तपाईँ सुन्दै हुनुहुन्छः

मधेशमा सडक मानव मुक्त गर्ने अभियान

वीरगन्ज। वीरगन्ज सहित मधेशमा सडक मानव मुक्त गर्ने अभियानमा जुटिरहेको मानव सेवा आश्रम वीरगन्जले ८ वर्षको अवधिमा २ सय ९२ जना सडक मानवको उद्धार गरेको छ ।

मानवसेवा आश्रम वीरगन्जको तथ्याङ्क अनुसार, २०७४ जेठ १५ स्थापना भएको वीरगन्ज आश्रमले हालसम्म २ सय ९२ जनाको उद्धार गरेको आश्रमका संस्थापक अभियन्ता देवेश गुप्ताले बताउनुभयो । 

आश्रमले उद्धार गरेका मध्ये १ सय २५ जनाको सफल पारिवारिक पुनर्मिलन गराइसकेको छ भने ३६ जनाले आश्रममै देह त्याग गरेका छन् । ८४ जनाको सामुदायिक पुनर्स्थापना गरिएको छ । हाल मानवसेवा आश्रम वीरगन्जमा ४७ महिला, पुरुष र बालबालिका आश्रित रहेका छन् ।

२०७४ जेठ १५ गते शाखाले वीरगन्जस्थित नारायणी अस्पताल परिसरबाट शङ्कर नाम गरेका एक अपाङ्गता भएका युवकलाई उद्धार गरी मानवसेवा आश्रम वीरगन्जको सेवा सुरुवात गरिएको थियो । त्यसयता आश्रमले खुल्ला आकाश मुनी सडकपेटी तथा सार्वजनिक स्थलहरूमा अति कष्टपूर्ण जीवन बिताउन विवश सहयोगापेक्षी सडक आश्रित बेसहारा, असहाय, अशक्त, अभिभावकविहीन, शारीरिक तथा मानसिक रुपमा अति कमजोर मानवहरूको अविच्छिन्न रुपमा उद्धार, उपचार, पालनपोषण, संरक्षण एवम् पारिवारिक पुनर्मिलनको काम गराइरहेको आश्रमका संस्थापक गुप्ताले बताउनुभयो । 

गुप्ताका अनुसार, २०७४ देखि ०७९ सम्म ५ वर्ष वीरगन्जस्थित भारतीय महावाणिज्य दूतावास पछाडिको एक घर भाडामा लिएर आश्रम सञ्चालन गरिएको थियो । ०८० देखि वीरगन्ज–२५ सिर्सियामा वृद्धाश्रमको लागि बनेको घरमा हाल आश्रम सञ्चालन भइरहेको छ ।

वीरगन्ज –१५ लक्ष्मणवामा वीरगन्ज महानगरपालिकाले उपलब्ध गराएको १४ कठ्ठा जग्गामा करिब २० करोड रुपैयाँको लागतमा आश्रमको आफ्नै सुविधा सम्पन्न भवन निर्माणाधीन अवस्थामा रहेको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button