‘राइड सेयरिङ’ को विरोधमा गण्डकीमा बिहानै देखी यातायात सेवा ठप्प
कास्की । गण्डकी प्रदेशमा आज बिहानै देखी सार्वजनिक यातायात सेवा प्रभावित भएको छ।

प्रदेश सरकारले राइड सेयरिङ र सेल्फ ड्राइभ सेवालाई कानुनी रूपमा स्वीकृति दिने नियमन तथा व्यवस्थापनसम्बन्धी नियमावली जारी गरेपछि प्रदेशभर सार्वजनिक यातायात सेवा प्रभावित भएको छ। नियमावली सार्वजनिक भएपछि यसको विरोध स्वरूप यातायात व्यवसायीहरूले सवारी साधन सञ्चालन नगरेका हुन्।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घको नेतृत्वमा गण्डकीका सवारी व्यवसायीहरूले आन्दोलन थालेका छन्। उनीहरूले सरकारको निर्णयले सार्वजनिक यातायातलाई कमजोर बनाउने आशङ्का व्यक्त गर्दै निर्णय फिर्ता लिन दबाब दिइरहेका छन्। महासङ्घ गण्डकीका अध्यक्ष केदार पौडेलले सरकारकै कदमले व्यवस्थित यातायात प्रणाली धरासायी बनाउने आरोप लगाउनु भएको छ ।
यस विरोधका कारण आज बिहानैदेखि गण्डकीमा ट्याक्सी, बस र ढुवानी सेवा पूर्ण रूपमा अवरुद्ध भएका छन्। पोखरा ट्याक्सी प्रालिका अध्यक्ष शोभाकान्त पौडेलका अनुसार, निजी सवारी साधनलाई सार्वजनिक सरह प्रयोग गर्न दिने नीतिको विरोधमा आन्दोलन गरिएको बताउनु भयो । सरकार आफ्नो निर्णयबाट पछि नहटे सम्म आन्दोलन जारी रहने बताएका छन्। व्यवसायीहरू १६ गतेदेखि गण्डकीभित्र र १९ गतेदेखि देशभर सवारी अवरुद्ध गर्ने चेतावनी दिइरहेका छन्।
सङ्घर्ष समितिका प्रवक्ता योगेन्द्र केसीले सरकारले संघीय कानुनको बेवास्ता गर्दै सार्वजनिक सवारीको भूमिकालाई कमजोर बनाउने गरी निजी सवारीलाई सेवा दिने अधिकार दिएको आरोप लगाउनुभएको छ ।
प्रतिक्रिया राख्नुहोस्