तपाईँ सुन्दै हुनुहुन्छः

पूर्वराज्यमन्त्री खड्काको निधन

दैलेख । नेपाली कांग्रेस दैलेखका नेता तथा पूर्व राज्यमन्त्री गणेशबहादुर खड्काको ८२ वर्षको उमेरमा निधन भएको छ । उहाँको दैलेखको नारायण नगरपालिका ७ किमुगाउँ स्थित आफ्नै निवासमा आज बिहान निधन भएको हो । 

नेपाली कांग्रेस दैलेखका तत्कालीन सभापति समेत रहनु भएका खड्का २०४८, २०५१ मा प्रतिनिधिसभा सदस्य र २०६४ को पहिलो संविधानसभा निर्वाचनमा समेत गरी तीन पटक सांसदमा हुनुभएको थियो । २०६४ सालमा तत्कालीन मध्यपश्चिमाञ्चल विकास क्षेत्रका १५ जिल्लाका ३० निर्वाचन क्षेत्रमा नेपाली काँग्रेसबाट जित्ने उहाँ एक्लो सांसद समेत हुनुहुन्थ्यो ।

२०५२ सालमा शेरबहादुर देउवाको मन्त्री मण्डलमा निर्माण तथा यातायात व्यवस्था सहायक मन्त्री बनेकै समयमा खड्काको पहलमा सुर्खेत–दैलेख मोटरबाटो र बिजुली बत्ती दैलेख सदरमुकाममा पुगेको थियो । २०६६ सालमा माधव नेपालको मन्त्रीमण्डलमा उहाँ स्थानीय विकास राज्यमन्त्री बन्नुभएको थियो ।

२०२५ सालदेखि राजनीतिमा सक्रिय रहनु भएका खड्का २०२७ देखि २०३० सम्मका नेपाली काँग्रेस दैलेखको जिल्ला उपसभापति र २०३३ देखि २०४८ सम्म सभापति हुनुहुन्थ्यो । दैलेखमा उहाँले नेतृत्वमा २०६२/०६३ दोस्रो जनआन्दोलनमा लोकतान्त्रिक आन्दोलन भएको थियो ।

वि.सं. १९९९ साउन १४ गते दैलेखको किमुगाउँमा जन्मिनु भएका खड्काका श्रीमती, २ छोरा र ४ छोरी छन् । जेठो छोरा र जेठी छोरीको यसअघि नै निधन भइसकेको छ । दैलेखको अग्रज राजनीतिक व्यक्ति खड्काको राजनीतिक आन्दोलनको उपलब्धिको उत्सव गणतन्त्र दिवसको दिन निधन भएको छ । उहाँको आजै श्रीस्थानमा दाहसंस्कार गरिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button