तपाईँ सुन्दै हुनुहुन्छः

सिमावर्ती भारतको बिहारमा कोरोना फैलिँदै,वीरगन्जमा उच्च सतर्कता

वीरगंज। छिमेकी मुलुक भारतको बिहार राज्यमा कोभिड–१९ (कोरोना भाइरस) को सङ्क्रमण पुनः तीव्र गतिमा फैलिन थालेसँगै नेपाल भारत सिमानाका वीरगन्जमा उच्च सतर्कता अपनाइएको छ ।

खुल्ला सीमाको कारण विगतमा कोरोना सङ्क्रमणको केन्द्र बनेको वीरगन्जमा अहिले सुरुवात कालमै भारतबाट भित्रिने शङ्कास्पद व्यक्ति तथा यात्रुको सिमानाकामानै चेकजाँच शुरु गरिएको पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले बताउनुभयो । 

कोरोना सङ्क्रमणको पहिलो तथा दोस्रो भेरियन्ट्समा वीरगन्ज उच्च जोखिममा परेको हुँदा सरकारले सिमानाकामा करोडौँको लागतमा क्वारेनटाइन समेत स्थापना गरिसकेको छ । भोली समस्या देखिएमा सङ्क्रमितहरूको उपचार सीमा क्षेत्रमै गर्न सकिने पूर्वाधार रहेको र अहिलेनै आत्तिहाल्नपर्ने अवस्था नरहेको चिकित्सकहरूले बताएका छन् । 

भारत बिहारको राजधानी पटनामा पछिल्लो २४ घण्टामा ६ जना नयाँ कोरोना सङ्क्रमित फेला परेको र कोरोना फैलने क्रम तीव्र रूपमा बढेपछि बिहारमा उच्च स्वास्थ्य सतर्कता अपनाइएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

बिहारसँगै सिमाजोडिएको कारण फेरी विशेषगरी वीरगञ्ज–रक्सौल नाका उच्च जोखिममा रहेको हुँदा सिमाक्षेत्रमा उच्च स्वास्थ्य सतर्कता अपनाउन थालिएको प्रमुख जिल्ला अधिकारी अर्यालले बताउनुभयो । 

भारतको वीरगन्ज रक्सौल नाका बाट दैनिक हजारौँ मानिसको आवतजावत हुने भएकाले स्वास्थ्य विज्ञहरूले नाकामा कडाइ गर्न सम्बन्धित निकायसँग माग गरेका छन् । 

पर्साका प्रमुख जिल्ला अधिकारी अर्यालले कोभिड–१९ को सम्भावित जोखिमलाई रोक्न विशेष सतर्कता अपनाउने कार्य शुरु भइसकेको जानकारी दिँदै आजै जिल्ला सुरक्षा समिति र सरोकारवालाहरूसँग बैठक बसेर भारतको रक्सौलबाट नेपाल भित्रिने शङ्कास्पद यात्रुलाई स्क्रिनीङ्ग गर्ने तथा स्वास्थ्य परीक्षण समेत गर्ने निर्णय गरेको र त्यसलाई कार्यान्वयनको तहमा लगिएको बताउनुभयो । 

यसैबिच जिल्ला सुरक्षा समितिको बैठकले स्वास्थ्य सुरक्षालाई मध्यनजर गर्दै सीमा क्षेत्रमा सतर्कता बढाउन र आवश्यक स्वास्थ्य प्रोटोकल पालना गर्न सम्बन्धित सबै पक्षलाई अपिल समेत गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button