तपाईँ सुन्दै हुनुहुन्छः

गणतन्त्र प्राप्ति सङ्घर्षको गौरवपूर्ण यात्राको सम्मान: प्रधानमन्त्री ओली

काठमाडौँ । गणतन्त्र दिवस २०८२ को विशेष समारोहमा प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा गणतन्त्र स्थापनाको ऐतिहासिक उपलब्धिलाई स्मरण गर्नुहुँदै यसलाई व्यवहारमा अझ सुदृढ र प्रभावकारी बनाउनु पर्नेमा जोड दिनुभएको छ।

प्रधानमन्त्री ओलीले सैनिक मञ्च टुँडिखेलमा आयोजित औपचारिक समारोहमा सम्बोधन गर्नुहुँदै भन्नुभयो, “गणतन्त्र हामीले पाएका होइनौँ, अर्जन गरेका हौँ। हजारौँ जनताको बलिदान, सङ्घर्ष र त्यागबाट प्राप्त उपलब्धिलाई हामीले कहिल्यै बिर्सनु हुँदैन।”

उहाँले हिजोको निरङ्कुश राजतन्त्र र आजको गणतान्त्रिक व्यवस्थाबिचको भिन्नता प्रष्ट पार्दै आजको पुस्ताले प्राप्त गरेको अभिव्यक्तिको स्वतन्त्रता, मतदानको अधिकार र विकासका उपलब्धिहरूलाई मूल्याङ्कन गर्न आग्रह गर्नुभयो।

सम्बोधनमा प्रधानमन्त्री ओलीले जनआन्दोलनका शहीदप्रति श्रद्धाञ्जली अर्पण गर्नुका साथै आन्दोलनमा घाइते र अपाङ्ग भएकाहरूप्रति सम्मान प्रकट गर्नुभएको थियो। उहाँले गणतन्त्र प्राप्तिमा योगदान दिने सबै राष्ट्रसेवक, नागरिक समाज, सञ्चारकर्मी र आम जनसमुदायप्रति आभार व्यक्त गर्नुभयो।

“आज जनता आफैँले वडा सदस्यदेखि राष्ट्रपतिसम्म छान्ने अधिकार प्रयोग गर्छन्,” प्रधानमन्त्री ओलीले भन्नुभयो, “जनताको मत नै मुलुकको भविष्य निर्धारण गर्ने शक्तिशाली माध्यम हो।”

गणतन्त्र कालमा विकास, पूर्वाधार, शिक्षा, स्वास्थ्य, सञ्चार लगायतका क्षेत्रमा उल्लेखनीय प्रगति भएको दाबी गर्नुहुँदै उहाँले गणतन्त्रलाई अझ सुदृढ पार्न सरकार प्रतिबद्ध रहेको बताउनुभयो। साथै, गणतन्त्र कुनै दल विशेषको नभइ सम्पूर्ण जनताको साझा सम्पत्ति भएको स्पष्ट पार्दै “गणतन्त्रमा कमजोरी आए त्यो व्यवस्थाको होइन, निर्णयकर्ताको कमजोरी हो,” भन्दै आलोचना, सुधार र जबाफदेहिताको संस्कार कायम गर्न आग्रह गर्नुभयो।

प्रधानमन्त्री ओलीले समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा पुरा गर्न लोकतान्त्रिक गणतन्त्र प्रणालीलाई व्यवहारमा उतार्दै लैजान सबैलाई एकजुट भएर अघि बढ्न आह्वान गर्नुभयो।

प्रतिक्रिया राख्नुहोस्

Back to top button