नेपालगन्जमा सडक स्तरोन्नति, स्थानीयवासीमा उत्साह
बाँके। नेपालगन्ज उपमहानगरपालिका वडा नं. १८ को दुर्गा भगवती टोलमा सडक स्तरोन्नति कार्य सुरु भएपछि स्थानीयवासी उत्साहित बनेका छन्। वर्षौंसम्म हिलो, धुलो र खाल्डाखुल्डीले हैरान भएका बासिन्दाले अब व्यवस्थित सडकको सपना साकार भएको महसुस गर्न थालेका छन्।
वडाध्यक्ष दीपक बर्माका अनुसार दुर्गा भगवती टोलमा आरसीसी नाला सहित सडक स्तरोन्नतिको लागि २५ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ। यसबाहेक, विषाल चौक–बनियाँ गाउँ सडक ५० लाखमा अस्फाल्ट गरिएको छ भने बुद्धनगर क्षेत्रमा १० लाखको लागतमा पीसीसी सडक तथा नाला निर्माण भइरहेको छ। यस्तै, देवतादीन माध्यमिक विद्यालयको भवन निर्माणमा ७५ लाख खर्च हुने वडाले जनाएको छ।
वडाध्यक्ष बर्माले उपभोक्ता समितिमार्फत असार मसान्तभित्रै सबै काम सम्पन्न गर्ने लक्ष्य राखिएको जानकारी दिए। उनका अनुसार वडाभित्रका सडकलाई योजनाबद्ध रूपमा स्तरोन्नति गर्न गुरुयोजना तयार गरिएको छ।
स्थानीय बासिन्दा नारायणप्रसाद शास्त्रीले सडक निर्माण सुरु भएको देख्दा “सपना जस्तै” लागेको प्रतिक्रिया दिएका छन्। किसान धनिराम तेलीले अब कृषिउपज बजारसम्म पुर्याउन सजिलो भएको बताउँदै अघिल्लो वर्षहरूमा बाटो अभावका कारण उत्पादन खेर गएको गुनासो गरे।
नगर प्रमुख प्रशान्त बिष्टले उपमहानगरपालिकाले सडक निर्माणमा दिगो विकासको मोडल अपनाएको उल्लेख गरे। उनका अनुसार गुणस्तरीय पूर्वाधार निर्माण सुनिश्चित गर्न पालिकामा पूर्वाधार परीक्षण प्रयोगशाला स्थापना गरिएको छ। सामाजिक, आर्थिक, वातावरणीय र सुशासनका क्षेत्रलाई सँगसँगै अघि बढाउँदै विकास कार्य भइरहेको मेयर बिष्टले जानकारी दिए।
प्रतिक्रिया राख्नुहोस्