प्रदेश प्रमुखद्वारा मधेश प्रदेश सभाको पाँचौँ अधिवेशन आह्वान

जनकपुरधाम । मधेश प्रदेशका प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले मधेश प्रदेश सभाको पाँचौँ अधिवेशन जेष्ठ २१ गते बस्ने गरि आज आह्वान गर्नु भएको छ ।
मधेश प्रदेश सरकारको जेष्ठ ११ गते बसेको मन्त्रीपरिषद् बैठकले गरेको निर्णयको आधारमा पाँचौँ अधिवेशन आह्वानका लागि प्रदेश सरकारबाट सिफारिस भए अनुसार प्रदेश प्रमुख भण्डारीले संविधानको धारा १८३ को उपधारा (१) अनुसार बैठक आह्वान गर्नु भएको प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता शत्रुधन यादवले जारी गर्नु भएको सूचनामा उल्लेख गरिएको छ ।
मधेश प्रदेश सरकारलाई छिटो अधिवेशन बोलाउनका लागि विभिन्न राजनीतिक दलबाट दवाव आइरहेको बेलामा पाँचौँ अधिवेशन आह्वान भएको छ । पाँचौँ अधिवेशनमा मधेश प्रदेश सरकारको नीति तथा कार्यक्रमका साथै आर्थिक वर्ष २०८२–०८३ का लागि आयव्यय सहितको बजेट पेश गर्ने कार्यक्रम रहेको छ ।
केही प्रदेशले अधिवेशन आह्वान गरेर प्रदेश सरकारको नीति तथा कार्यक्रम पारित गरिसकेको बेलामा मधेश प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुखबाट पाँचौँ अधिवेशनको आह्वान भएको छ । जेष्ठ २१ गते १ बजेका लागि पाँचौँ अधिवेशन आह्वान भएको छ ।
प्रतिक्रिया राख्नुहोस्