तपाईँ सुन्दै हुनुहुन्छः

रिकु गाँउमा होमस्टे 

दोलखा । दोलखाको गौरीशङ्कर गाउँपालिका वडा नम्बर– ९ मा पर्ने रिकु (रिगु) गाँउमा अहिले धमाधम होमस्टे बनिरहेको छ । दोलखाको सबैभन्दा दुर्गम यो गाँउमा लामाबगरबाट पैदलमार्ग जोडिएको र रोल्वालिङ खोला जलविद्युत आयोजनाको अडिट टनेल निर्माण सुरु भएकोले स्थानीय होमस्टे निर्माणमा जुटेका हुन् ।

माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको ड्याम रहेको लामाबगरबाट रिकुसम्म पैदलमार्ग जोडिएपछि च्छो– रोल्पा पुग्न सहज हुने र रोल्वालिङ खोला जलविद्युत आयोजनाको अडिट टनेल निर्माण पछि पर्यटकको चहल– पहल बढ्ने भएकोले गाँउमा होमस्टे बनाउन थालिएको स्थानीय विशाल खड्काले बताए । 

च्छो– रोल्पा जाने पर्यटकहरूको लागि लामाबगरसम्म गाडीमा आएर माथिल्लो तामाकोशी आयोजनाको ड्याम हेर्ने र भीर कोपेर बनाइएको पैदलमार्ग हुँदै रिकुमा बास बसेर अघि बढ्नु सहज हुने भएकोले गाँउमा होमस्टेको आवश्यकता महशुस गरिएको विशालको भनाई छ ।  

ढुङ्गाको पहाडले घेरिएको जिल्लाकै दुर्गम यो गाँउमा उब्जनीको नहुने र बर्षायाममा आवत–जावतमा समेत समस्या हुने भएकोले स्थानीय सधैँ त्रासमा बाँचिरहेका थिए । लामाबगरबाट पैदलमार्ग जोडिएपछि रिकुमा उत्साह र खुशी भित्रिएको विशाल खड्का बताउँछन् ।

२२ घरधुरी रहेको रिकुका पाँच घरमा अहिले होमस्टे निर्माण भएको र यो सङ्ख्या बढ्दै जाने अर्का स्थानीय मिनबहादुर मोक्तान बताउँछन् । गाँउमा रोल्वालिङ खोला जलविद्युत आयोजनाका घरहरू पनि थपिएको र मानिसको चहल– पहल पनि बढेकोले स्थानीय आलु, तरकारी, लसुन, कोदो, किवी लगायतका अन्न तथा फलफूल खेतीमा समेत सक्रिय बनेको मीनबहादुरको भनाई छ । 

रिकु गाउँलाई लामाबगरसंग जोड्न रोल्वालिङ खोला जलविद्युत आयोजनाले अजङ्गको ढुङ्गाको चिम्लिङको भीर कोपेर तीन किलोमिटर पैदलमार्ग निर्माण गरिदिएको आयोजना प्रमुख मनोज ताम्राकारले बताए । रिकु गाउँको विकास र स्थानीयको जीवनस्तर सुधारको लागि आयोजनाले पैदल मार्गमा सहयोग गरेको आयोजना प्रमुख ताम्राकार बताउँछन् । 

२१ सय मिटरको उँचाइमा रहेको रिकु गाँउमा २०१४ सालबाट बसोबास सुरु भएको स्थानीय भीमबहादुर खड्काले बताए । यो गाँउमा खड्का र तामाङको मात्र बसोबास रहेको उनले बताए । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button