तपाईँ सुन्दै हुनुहुन्छः

न्यूजिल्याण्डका उपप्रधानमन्त्री विन्सटन पिटर्स आज काठमाडौं आउँदै

काठमाडौं । न्यूजिल्याण्डका उपप्रधानमन्त्री तथा विदेशमन्त्री विन्सटन पिटर्स आज नेपाल भ्रमणमा आउँदै हुनुहुन्छ। परराष्ट्र मन्त्रालयका अनुसार दुई दिने औपचारिक भ्रमणका लागि उहाँ आज काठमाडौं आइपुग्ने कार्यक्रम छ।

नेपाल बसाइका क्रममा उपप्रधानमन्त्री पिटर्सले राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेट गर्नुहुनेछ। साथै, उहाँले परराष्ट्रमन्त्री डा. अरुजु राणा देउवासँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम रहेको छ।

यो नेपालमा न्यूजिल्याण्डका उपप्रधानमन्त्री तथा विदेशमन्त्रीबाट हुने पहिलो औपचारिक भ्रमण हो। परराष्ट्र मन्त्रालयले यस भ्रमणले दुई देशबीचको सम्बन्धलाई नयाँ आयाम प्रदान गर्ने विश्वास व्यक्त गरेको छ।

न्यूजिल्याण्ड सरकारको आधिकारिक वेबसाइटमा प्रकाशित विज्ञप्तिमा उपप्रधानमन्त्री पिटर्सले अष्ट्रेलिया, श्रीलंका, नेपाल र भारतको भ्रमण गर्ने उल्लेख गरिएको छ। उक्त भ्रमणको उद्देश्य दक्षिण एसियाली देशहरूसँगको सम्बन्ध सुदृढ गर्नु रहेको न्यूजिल्याण्ड सरकारले जनाएको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button