तपाईँ सुन्दै हुनुहुन्छः

मनसुनजन्य विपद् जोखिम न्यूनीकरण तयारीबारे प्रधानमन्त्रीद्वारा जानकारी

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आसन्न मनसुनको पूर्वानुमान र सम्भावित विपद् जोखिम न्यूनीकरणका विषयमा आज बबरमहलस्थित जल तथा मौसम विज्ञान विभाग पुगेर जानकारी लिनुभएको छ ।

यस वर्ष गत वर्षको भन्दा बढी वर्षा हुन सक्ने पूर्वानुमान गरिएको अवस्थामा विभागको पूर्वानुमान÷सूचना प्रवाह कसरी भइरहेको छ र यसलाई थप प्रभावकारी बनाइ जनधनको क्षति कसरी रोक्न सकिन्छ भन्नेबारेमा प्रधानमन्त्री ओलीले चासो लिनुभएको हो । 

विभागको अध्ययन र प्रस्तुति सुनेपछि प्रधानमन्त्री ओलीले विभागको पूर्वानुमान र सूचना प्रवाहलाई लक्षित क्षेत्रका जनताले बुझ्ने सरल भाषामा प्रभावकारी रुपमा सम्प्रेषण गर्न निर्देशन दिनुभयो । विभागका सबै स्टेसनहरू तन्दुरुस्त हालतमा राख्न र अतिवृष्टि हुने खास क्षेत्रबारे स्थानीय तह, सुरक्षा निकाय र आमसञ्चारका माध्यमबाट समेत सुसूचित गरेर मानवीय र भौतिक क्षति हुन नदिने तर्फ सचेत हुन प्रधानमन्त्री ओलीले आग्रह गर्नुभयो ।

विभागका महानिर्देशक कमलराम जोशीले यस वर्ष यही जेठ १८ गतेदेखि आगामी असोज १४ मनसुन अवधि हुने र गण्डकी प्रदेश, लुम्बिनी प्रदेशको उत्तरी भाग र कर्णाली प्रदेशको पूर्वी भागमा सरदरभन्दा बढी वर्षा हुने जानकारी गराउनुभयो । विभागको कार्यालयमा स्थलगत रुपमा यसरी पहिलो पटक प्रधानमन्त्री तहबाट अवलोकन र अनुगमन भएको उल्लेख गर्दै उहाँले आफूहरूले उपलब्ध प्रविधि र स्रोत साधनको अधिकतम् प्रयोग गरी पूर्वानुमानलाई प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो । 

अवलोकनका क्रममा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दिपक खड्का, राज्यमन्त्री खमबहादुर गर्बुजा लगायत सम्बन्धित उच्चाधिकारी सहभागी हुनुहुन्थ्यो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button