जलवायु सङ्कटमा एकीकृत प्रयास आवश्यक: नेता रिजाल
काठमाडौँ । नेपाली कांग्रेसका नेता डा. मीनेन्द्र रिजालले पछिल्लो समय जलवायु परिवर्तनसम्बन्धी चेतना जनस्तर सम्म बढ्दै गएको र यसलाई प्रभावकारी बनाउन एकीकृत प्रयासको आवश्यकता रहेको बताउनुभएको छ ।

नेपाल प्रेस युनियनको ३४औँ स्थापना दिवसको अवसरमा आज काठमाडौँमा आयोजित “लोकतन्त्र, प्रेस स्वतन्त्रता र जलवायु सङ्कटमा प्रेसको भूमिका” विषयक कार्यक्रममा बोल्नुहुँदै नेता रिजालले सरकारसँगै सबै सरोकारवालाहरूले समन्वय गरेर अघि बढ्नुपर्ने धारणा राख्नुभयो।
उहाँले भन्नुभयो, “नेपालको कार्बन उत्सर्जनमा भूमिका नगण्य भए पनि जलवायु परिवर्तनको असरमा नेपाल अत्यधिक प्रभावित भएको छ। त्यसैले अन्तर्राष्ट्रिय तहमा क्षतिपूर्ति र दाबीका लागि पहल र पैरवी अपरिहार्य छ।”
कार्यक्रममा प्रतिनिधिसभाका सदस्य उदयशम्शेर राणाले नेपालले जलवायुजन्य क्षतिपूर्तिका लागि जलवायु वित्तमा पहुँच बढाउनुपर्नेमा जोड दिनुभयो।
त्यस्तै, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिकी सभापति कुसुमदेवी थापाले जलवायु परिवर्तन विश्वको ज्वलन्त विषय भएको उल्लेख गर्दै मिडियाको सक्रिय भूमिका अनिवार्य रहेको बताउनुभयो। उहाँले मिडियामा देखिने विकृति समाधानमा प्रेस युनियनको योगदान महत्वपूर्ण हुने धारणा व्यक्त गर्नुभयो।
नेपाल पत्रकार महासङ्घका पूर्व अध्यक्ष हरिहर विरहीले केही व्यक्तिको विकृति देखाएर सम्पूर्ण राजनीतिक प्रणालीलाई बदनाम गराउने प्रवृत्ति बढेको उल्लेख गर्दै यथार्थ उजागर गर्न प्रेसको उत्तरदायित्वपूर्ण भूमिका जरुरी रहेको बताउनुभयो।
कार्यक्रममा प्रेस युनियनका अध्यक्ष शिव लम्सालसहित पूर्व अध्यक्षहरू रमेश तुफान, कुलचन्द्र वाग्ले, समरजङ्ग शाह, बद्री सिग्देललगायतले लोकतन्त्र र प्रेस स्वतन्त्रताको संरक्षणमा युनियनको योगदानबारे धारणा राख्नुभएकाे थियाे।
प्रतिक्रिया राख्नुहोस्