तपाईँ सुन्दै हुनुहुन्छः

चीनले नेपाललाई कठिन अवस्थाहरूमा गरेको सहयोगको पूर्व राष्ट्रपति भण्डारीद्वारा सराहना

नेपालको विकास, शान्ति र स्थिरताका लागि सधैँ साथै रहेर सहकार्य गर्ने चीनको प्रतिबद्धता 

काठमाडौँ । चीन भ्रमणमा रहनुभएका पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी आज बेइजिङमा उच्चस्तरीय भेटवार्ताका साथै विभिन्न कार्यक्रमहरूमा व्यस्त रहनुभयो । 

पूर्व राष्ट्रपति भण्डारी र चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभागका मन्त्री लिउ जियाञ्चाओ नेतृत्वको उच्चस्तरीय प्रतिनिधि मण्डलबीच द्विपक्षीय वार्ता भयो । 

द्विपक्षीय वार्तामा चीनका तर्फबाट नेपालको विकास, शान्ति र स्थिरताका लागि सधैँ साथै रहेर सहकार्य गर्ने प्रतिबद्धता ब्यक्त भयो । चिनियाँ प्रतिनिधिमण्डलका नेता मन्त्री लिउले छिमेकको शान्ति र विकासमा निशर्त सहयोग रहने स्पष्ट पार्नुभयो । चिनियाँ विशेषताको समाजवादको चर्चा गर्दै मन्त्री लिउले नेपाली विशेषता बोकेको जनताको बहुदलीय जनवादको अभ्यासप्रति खुशी व्यक्त गर्नुभयो । 

मन्त्री लिउले समाजवादको लक्ष्य प्राप्त गर्न नेपालका वामपन्थी र अहिले सरकारमा रहेको दल नेपाली काँग्रेसबीच सहकार्यको आवश्यकतामा पनि जोड दिनुभयो । उहाँले सदैव नेपालको विकास र हितमा रहेको चीनले नेपालको बृहत्तर हितका लागि सबै राजनीतिक दलहरूले मिलेर काम गरेको हेर्न चाहेको समेत बताउनुभयो । 

पूर्व राष्ट्रपति भण्डारीले चीनले गरिरहेको सहयोगप्रति धन्यवाद व्यक्त गर्दै चीन सरकारको सहयोगमा सञ्चालित अधुरा विकास आयोजनाहरू पूरा गर्ने कार्यलाई नेपाल सरकारले प्राथमिकता दिएको जानकारी गराउनुभयो । उहाँले चीनले नेपाललाई कठिन अवस्थाहरूमा गरेको सहयोगको समेत स्मरण गर्नुभयो । 

पूर्व राष्ट्रपति भण्डारीले आफू राष्ट्रपति रहँदा चीनका राष्ट्रपति सी चिनफिङबाट भएको नेपाल भ्रमणको स्मरण गर्दै चीनबाट प्राप्त सद्भाव र सहयोगप्रति धन्यवाद व्यक्त गर्नुभयो । उहाँले नेकपा एमाले तत्कालीन महासचिव मदन भण्डारीले गर्नुभएको चीन भ्रमणको समेत स्मरण गर्नुभयो । 

पूर्व राष्ट्रपति भण्डारीले अग्ला हिमाल र पहाडले नेपाल र चीनको आपसी सम्बन्धलाई छेक्न नसक्ने बताउँदै नागरिक स्तरको हार्दिकतापूर्ण सम्बन्धलाई यस क्षेत्रको विकासमा उपयोग गर्नुपर्ने पनि बताउनुभयो । 

नेपाली उच्चस्तरीय प्रतिनिधिमण्डलको नेतृत्व गर्नुभएका पूर्व राष्ट्रपति भण्डारी ९ दिने भ्रमणका क्रममा भोली मंगलबारसम्म बेइजिङमा रहनु हुनेछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button