तपाईँ सुन्दै हुनुहुन्छः

मेयर कप ब्याडमिन्टनमा आर्यन तथा ओम र कृष्णको जोडी च्याम्पियन

नेपालगञ्ज । नेपालगञ्जमा जारी प्रथम नगर स्तरीय मेयर कप ब्याडमिन्टन प्रतियोगिता अन्तरगत ब्वाइज सिङ्गल अण्डर १५ तर्फ आर्यन राना तथा मेन्स डबलतर्फ ओम चालिसे र कृष्ण रानाको जोडी प्रथम भएका छन् । फाइनलमा अण्डर १५ तर्फ आर्यनले संस्कार केसीलाई २१-१६, १६-२१ र २१-१६ ले पराजित गर्दै च्याम्पियन भए । 

केसीले दोस्रो स्थानमै चित्त बुझाए । अभय राजवंशी र सुयोग्य श्रेष्ठ तृतीय भए । प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः १० हजार, ५ हजार र २ हजार ५ सय नगदसहित पदक, प्रमाणपत्र र ट्रफी प्राप्त गरे । प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने आर्यन उत्कृष्ट खेलाडी घोषित भए । त्यस्तै आर्यन बुढा उदीयमान खेलाडीबाट पुरस्कृत भए ।

त्यसैगरी मेन्स डबलतर्फ ओम चालिसे र कृष्ण रानाको जोडीले अर्जुन बुढा मगर र वीरेन्द्र श्रीषको जोडीलाई २१-१९, १७-२१ र २१-१९ ले पराजित गर्दै प्रथम स्थान हासिल गर्न सफल भए । श्रीष र बुढा मगर दोस्रो स्थानमा रहे भने दिपक शाही र दिपक वनको जोडी तथा राजेश साउद र चन्द्र कलेलको जोडी तृतीय भए । 

विजयी खेलाडीहरूलाई प्रमुख अतिथि एवम् नेपालगञ्ज उपमहानगरपालिका शिक्षा, युवा तथा खेलकुद महाशाखाका प्रमुख गोर्ख बहादुर थापा, पूर्व खेलाडी समाजका कार्यबहाक अध्यक्ष निजामुद्दिन सिद्दिकी, मध्यपश्चिम क्षेत्रीय खेलकुद विकास समितिका प्रमुख महेश चन्द लगायतले पुरस्कार, पदक तथा प्रमाणपत्र प्रदान गर्नुभएको थियो ।

कार्यक्रममा बाँके जिल्लालाई राष्ट्रिय प्रतियोगितामा पहिलो पदक दिलाउने डा. सुरज प्रसाद श्रेष्ठलाई दोसल्ला, टोपी लगाएर कदरपत्रले सम्मानित गरिएको थियो । श्रेष्ठले बि.सं. २०२३ मा जनकपुरमा सम्पन्न राष्ट्रिय प्रतियोगिताको हाइजम्प इभेन्टमा बाँके जिल्लालाई कास्य पदक दिलाएका थिए । नेपालगञ्ज उपमहानगरपालिकाको सहयोगमा पूर्व खेलाडी समाज बाँकेद्वारा नेपालगञ्ज रङ्गशालास्थित कबर्ड हलमा आयोजित प्रतियोगितामा ब्वाइज अण्डर १५ इभेन्टतर्फ ३७ जना र मेन्स डबल्सतर्फ ३२ वटा टिमको सहभागिता रहेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button