तपाईँ सुन्दै हुनुहुन्छः

पूर्वराष्ट्रपति भण्डारी नौ दिने चीन भ्रमणको क्रममा बेइजिङमा 

काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी देवी भण्डारी उच्चस्तरीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै नौ दिने चीन भ्रमणको क्रममा आज गोञ्जाओ हुँदै बेइजिङ पुग्नुभएको छ । 

चिनियाँ कम्युनिष्ट पार्टीको विदेश विभागका अधिकारीसँगै चीनका लागि नेपाली राजदूत कृष्ण प्रसाद ओलीले उहाँलाई हार्दिक स्वागत गर्नुभएको थियो । 

उहाँ आजै साँझ उहाँको स्वागतका लागि चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभागले आयोजना गरेको रात्रीभोजमा सरिक हुनुभयो । उहाँलाई अन्तर्राष्ट्रिय विभागका मन्त्री लिउ च्यानछाउ Mr Liu Jianchao ले स्वागत गर्नुभएको थियो । सो अवसरमा नेपाल–चीनबीचको आपसी सम्बन्ध र त्यहाँ आयोजित कार्यक्रमको विषय संक्षिप्त कुराकानी भएको थियो । 

रात्रीभोजमा उहाँको प्रतिनिधिमण्डल र चिनिया अधिकारीका साथै अन्य विभिन्न मुलुकबाट सहभागी प्रतिनिधिहरुको सहभागिता रहेको थियो । 

उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डलमा सहभागी पूर्वउपप्रधानमन्त्री एवं नेकपा एमालेका सचिव तथा विदेश विभाग प्रमुख रघुवीर महासेठ, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी, एमाले नेता कर्ण बहादुर थापा, सांसद देवी भट्टचन, पूर्व सांसद गोमा देवकोटा, सार्वजनिक सेवा प्रसारण नेपालका कार्यकारी अध्यक्ष डा.महेन्द्र विष्ट, मदन भण्डारी फाउण्डेशनका डा. कैलाश कुमार भण्डारी, डा.भेषराज अधिकारी, विनय केसीलगायत समाजका विभिन्न क्षेत्र र उहाँको निजी सचिवालयका गरी १५ जना सहभागी हुनुहुन्छ । 

भ्रमणको क्रममा पूर्व राष्ट्रपति भण्डारीले भोलि सोमवार छिमेकी मुलुकका राजनीतिक पार्टीहरूसँग चिनियाँ कम्युनिष्ट पार्टीको संवाद कार्यक्रमको उद्घाटन कार्यक्रमलाई प्रमुख अतिथिको रुपमा सम्बोधन गर्नुहुने छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button