तपाईँ सुन्दै हुनुहुन्छः

काममा ढिलासुस्ती नगर्न मातहतका कर्मचारीलाई उर्जामन्त्री खड्काको निर्देशन

काठमाडौँ। ऊर्जा जलस्रोत तथा सिंचाईमन्त्री दिपक खड्काले मन्त्रालय र त्यसअन्तर्गतका निकायमा देखिएको कामप्रतिको ढिलासुस्ती र उदासीनता अन्त्य गर्न निर्देशन दिनुभएको छ ।

ऊर्जा मन्त्रालयमा आज आयोजित उच्चस्तरीय समीक्षा बैठकमा मन्त्री खड्काले कर्मचारीलाई सक्रिय, जिम्मेवार र समयानुकूल सेवा प्रवाहमा केन्द्रित हुन निर्देशन दिनुभएको हो । मन्त्रालय र अन्तर्गतका निकायमा फाइल रोकिएको गुनासो आएको भन्दै अबदेखि तीन दिनभित्र कुनै पनि फाइलको छिनोफानो हुनेगरी प्रक्रिया अघि बढाउन मन्त्री खड्काले निर्देशन दिनुभयो ।

उहाँले हालसम्म मन्त्रालयअन्तर्गतको समग्र प्रगति चित्तबुझ्दो नभएको भन्दै असन्तोष व्यक्त गर्नुभयो । कार्यसम्पादनमा पारदर्शिता, गति र उत्तरदायित्व कायम नगरेसम्म सेवा प्रवाह प्रभावकारी नहुने उल्लेख गर्दै मन्त्री खड्काले कर्मचारीलाई इमानदारिता र कर्तव्यनिष्ठका साथ आफ्नो जिम्मेवारी वहन गर्न आग्रह गर्नुभयो ।

मन्त्री खड्काले हामी स्थायी सरकार भन्छौँ, तर व्यवहारमा स्थायित्व नदेखिएको भन्दै  अहिलेको कार्यशैलीमा सुधार गरी कामलाई गम्भीरताका साथ लिन र लक्ष्य प्राप्तिमा लाग्न कर्मचारीलाई आग्रह गर्नुभयो ।

उहाँले वर्षायाम सुरु हुन लागेको सन्दर्भमा जल तथा मौसम विज्ञान विभागलाई सूचनाको प्रभावकारी प्रवाहमार्फत जोखिम न्यूनीकरणमा जोड दिन निर्देशन दिनुभयो । वर्षासँगै आउने सम्भावित जोखिमको समयमै सूचना प्रवाह गरी जनस्तरसम्म सतर्कता पु¥याउन आवश्यक रहेकोमा पनि मन्त्री खड्काले जोड दिनुभयो ।

बैठकमा ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री खमबहादुर गर्बुजा, ऊर्जा सचिव सुरेश आचार्य, जलस्रोत तथा सिँचाइ सचिव सरिता दवाडी, जलस्रोत तथा सिँचाइ विभागका महानिर्देशक सञ्जीव बराल, जल तथा मौसम विज्ञान विभागका महानिर्देशक कमलराम जोशी, नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य तथा मन्त्रालयका सहसचिवलगायत सम्बन्धित निकायका उच्च अधिकारीहरूको उपस्थिति रहेको थियो ।

बैठकमा मन्त्रालय र मातहतका निकायहरूको आर्थिक वर्ष २०८०/०८१ को वैशाख मसान्तसम्मको भौतिक तथा वित्तीय प्रगति विवरण प्रस्तुत गरिएको थियो । मन्त्री खड्काले प्रस्तुत विवरणको समीक्षापछि कार्यसम्पादन सुधार्न ठोस कार्ययोजना तयार पार्न समेत निर्देशन दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button