बर्दियामा रात्रिकालिन क्रिकेट प्रतियोगिता हुँदै
बर्दिया । बर्दियाको गुलरियामा रात्रिकालिन क्रिकेट प्रतियोगिता हुने भएको छ । बर्दिया कृष्णसार स्पोर्ट क्लब गुलरियाको आयोजनामा आगामी जेठ १६ गते देखि २६ गते सम्म क्रिकेट प्रतियोगिताको आयोजना गरिएको छ ।
आज बर्दियाको गुलरियामा पत्रकार सम्मेलन गर्दै आयोजकले प्रतियोगिताको बारेमा जानकारी गराएको छ । २० ओटा टिम सहभागी हुने अनुमान गरिएको सो प्रतियोगिता बर्दिया जिल्लामा दोस्रोपटक आयोजना गर्न थालिएको छ । प्रतियोगितामा सहभागी हुनका लागि प्रति टिमलाई छ हजार रुपियाँ शुल्क तोकिएको छ ।
खेलमा प्रथम हुने टिमलाई ५० हजार ५ सय दोस्रो हुने टिमलाई २५ हजार ५ सय रुपियाँ नगद पुरस्कार तोकिएको छ । त्यसैगरी म्यान अफ द म्याचलाई प्रति खेल पाँच सय दिइने भएको छ । प्रतियोगिताको उत्कृष्ट ब्याट्सम्यान, र उत्कृष्ट बलरलाई तीन तीन हजार रुपियाँ पुरस्कार दिने घोषणा गरिएको छ । त्यसैगरि उदाउँदो खेलाडीलाई दुई हजार र म्यान अफ द म्याचलाई पाँच हजार पुरस्कार दिने आयोजकले जनाएको छ ।
खेल राति साढे बजे देखि १२ बजे सम्म सञ्चालन हुने छ । १२–१२ ओभरको सञ्चालन हुने खेलमा प्रति दिन दुई ओटा प्रतियोगिता हुने बर्दिया कृष्णसार स्पोर्ट क्लब गुलरियाका अध्यक्ष खेम अधिकारीले बताउनु भयो । खेलमा करिब ६ लाख ५० हजार खर्च लाग्ने अनुमान गरिएको अध्यक्ष अधिकारीले बताउनुभयो ।
प्रतिक्रिया राख्नुहोस्