तपाईँ सुन्दै हुनुहुन्छः

नागढुङ्गा सुरूङमार्ग आगामी पुसभित्र सञ्चालनमा ल्याइने

काठमाडौँ । आगामी पुसपछि नागढुङ्गा सुरूङमार्ग सञ्चालनमा आउने भएको छ । अहिलेकै गतिमा काम गर्ने वातावरण भएमा आगामी छ महिनाभित्र सुरूङमार्ग सञ्चालनमा आउने गरी तयारी गरिएको हो ।

कूल ९० प्रतिशत भौतिक प्रगति गरी हाल १० प्रतिशतको काम बाँकी रहेको नागढुङ्गा सुरूङमार्गमा उपकरणहरूको संयोजन चलिरहेको आयोजनाको परामर्शदाता संस्था निप्पन कोइका इन्जिनियर रमेशप्रसाद कोइरालाले बताउनुभयो । 

Representative Image

“अहिले उपकरणहरूको परीक्षण र समग्र सुरूङमार्गको कार्य सम्झौताअनुसार आगामी कात्तिकको पहिलो साता निर्माण सम्पन्न गरी सञ्चालक निकायलाई हस्तान्तरण गर्ने लक्ष्यमा छौँ,” इन्जिनियर कोइरालाले भन्नुभयो, “अहिले उक्त सञ्चालक निकायको छनोटको प्रक्रिया अघि बढिरहेको छ र त्यो निकाय छनोट भएपछि पनि त्यसपछि तालिम लिनुपर्ने हुन्छ । त्यसमा पनि दुई महिना जति लाग्न सक्छ ।”  

उहाँका अनुसार आयोजनाले सुरूङमार्गको सुरक्षा, सहज आवागमन र मानवीय सुरक्षाका लागि सुरुङभित्र दमकल, आकस्मिक उद्धार, सिसिटिभी क्यामेरा, सञ्चार र सुरक्षा संयन्त्र, अक्सिजनको निरन्तर प्रवाहजस्ता सुरूङमार्गका अत्यावश्यक सेवा (टनेल फ्यासिसिटी) उपलब्ध गराउने कामलाई अन्तिम रूप दिइरहेको छ । 

पूर्वी मुखमा काठमाडौँको चन्द्रागिरि नगरपालिकाको दह चोकबाट सुरु हुने कूल २ दशमलव ७ किलोमिटर लामो सुरूङमार्ग पश्चिमतर्फ धादिङको धुनीबेँसी नगरपालिकाको सिस्ने खोलामा टुङ्गिनेछ । त्यसैको समानान्तर उद्धार आदि कार्यका लागि समानान्तर सहायक सुरुङसमेत खनिएको छ । 

सञ्चालनमा आएपछि नागढुङ्गादेखि बलम्बुसम्मको भौतिक दूरी करिब तीन किलोमिटरले छोटिनेछ भने प्रचलित मार्गमा हुने जाम, त्यहाँको उकालो र घुमाउरो बाटो आदिका हिसाबले इन्धन र सडक उपभोक्ताको झण्डै एक घण्टा समय बचत हुने अपेक्षा गरिएको छ । 

सुरूङमार्ग निर्माणमा सुरुमा देखिएका भौगोलिक अनिश्चितता, बजेटको व्यवस्था र स्थानीयसँगको संयोजनलाई आयोजना अनुकूल बनाउँदै भौतिक प्रगति हासिल गरिएको पनि इन्जिनियर कोइराला बताउनुहुन्छ । सुरूङमार्गमा निस्किएको पानीको व्यवस्थापनबारे स्थानीय जनता, चन्द्रागिरि नगरपालिका र धुनीबेँसी नगरपालिकाबीच केही अन्योल रहे पनि त्यसलाई सम्बोधन गर्ने तयारी भइरहेको उहाँले बताउनुभयो । 

आयोजनाले सिस्ने खोलातर्फ बनाउन लागेको पार्कको काम भने जग्गाको स्वामित्वबारे विवादका कारण स्थगित गरिएको कोइरालाले जानकारी दिनुभयो । मालपोतकै दस्ताबेजमा जग्गा धनीको महलमा सडक विभाग र व्यक्ति दुवैको नाम परेका कारण त्यहाँ अप्ठ्यारो परेको उहाँले बताउनुभयो । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button