‘उत्पीडित वर्गको समस्या सम्बोधन गर्ने पार्टी माओवादी केन्द्र मात्रै’
बागलुङ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिलेको मुख्य समस्या भ्रष्ट्राचार भएको बताउनुभएको छ ।

माओवादीले थालेको मध्यपहाडी लोकमार्ग जनजागरण अभियानका क्रममा शुक्रबार बागलुङ बजारको लोकतान्त्रिक चोकमा आयोजित जनसंवाद कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले माओवादीको सरकार आए भ्रष्ट्राचार निर्मूल पार्ने बताउनुभयो । उहाँले मध्यपहाडी पुष्पलाल लोकमार्ग आफ्नै प्रस्तावमा अघि बढेको बताउँदै आयोजना छिट्टै सक्न जनजागरण अभियान लोकमार्गमा रोजेको बताउनुभयो ।
प्रचण्डले मध्यपहाडी जनजागरण अभियानमा आम नागरिकको गुनासा र सुझाव ग्रहण गर्दै माओवादी केन्द्र फरक ढंगले अघि बढेको बताउनुभयो । उहाँले दलित, किसान, मजदुर, उत्पीडित वर्ग सबैको समस्या सम्बोधन गर्ने पार्टी माओवादी केन्द्र मात्रै रहेको बताउनुभयो ।
उहाँले उत्तर गङ्गा जलाशययुक्त जलविद्युत आयोजना, अछेते गलकोट सुरुङ मार्गको डिपिआर र गलकोट म्याग्दी जोड्ने सडकले आर्थिक विकासमा सघाउने बताउनुभयो ।
कार्यक्रममा धौलागिरि बहुमुखी क्याम्पस क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष प्रा. डा. दिन बहादुर थापा, बागलुङ उद्योग वाणिज्य संघका अध्यक्ष राजन कुमार शाक्य, नेपाल उद्योग व्यापार महासङ्घ गण्डकी प्रदेशका वरिष्ठ उपाध्यक्ष अर्जुन चोखाल र सहकारी पीडित सुशील पौडेलले नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग शिक्षा, उद्योग, व्यापार, विकास र सहकारी समस्या लगाएतको विषयमा प्रश्न र जिज्ञासा राख्नुभएको थियो ।
कार्यक्रममा एक दर्जन सहिद परिवारका आफन्तलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।
प्रतिक्रिया राख्नुहोस्