प्रधानमन्त्री केपी शर्मा ओली आज पोखरा जानुहुने
युवा सङ्घ नेपालको १० औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन गर्नुहुने
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आज पोखरा जाँदै हुनुहुन्छ। नेकपा (एमाले) निकट राष्ट्रिय युवा सङ्घ नेपालको १० औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहमा सहभागी हुन उहाँ पोखरा जान लाग्नुभएको हो।
प्रधानमन्त्री ओलीले अमरसिंह चौरमा आयोजना हुने कार्यक्रमलाई उद्घाटन गर्नुहुनेछ। जिल्ला प्रहरी कार्यालय कास्कीका एसपी श्यामबाबु ओलीका अनुसार, प्रधानमन्त्री ओली बिहान ११ बजे हेलिकप्टरमार्फत पोखरा आइपुग्नुहुनेछ ।
महाधिवेशनमा प्रधानमन्त्री ओलीसहित एमाले महासचिव शङ्कर पोखरेल, सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङ लगायतले सम्बोधन गर्ने कार्यक्रम छ। महाधिवेशनमा देशभरबाट २,००० प्रतिनिधिहरूको सहभागिता रहनेछ।
नेतृत्वका लागि प्रतिस्पर्धा
युवा सङ्घको अध्यक्ष पदका लागि पाँच जनाले आकाङ्क्षा देखाएका छन्, जसमा वर्तमान अध्यक्ष क्षितिज थेबेसहित उपाध्यक्षहरू कृष्णहरि केसी, महाराज गुरुङ, प्रकाश गौतम र महासचिव सुमन पुरी हुनुहुन्छ। महासचिव पदमा हालका सचिव निरोज पौडेलसहित कुवेर अधिकारी, विनय शाह, खेम शर्मा, महेश चौलागाईं, पर्वत भण्डारीले दाबी प्रस्तुत गर्नुभएकाे छ।
हाल ३३९ सदस्यीय केन्द्रीय कमिटी रहेको युवा सङ्घको नयाँ कमिटी १५१ सदस्यीय हुने बताइएको छ।
प्रतिक्रिया राख्नुहोस्