तपाईँ सुन्दै हुनुहुन्छः

धनुषामा श्रीमतीको हत्यामा संलग्न रहेका श्रीमान् पक्राउ  

जनकपुरधाम । धनुषामा श्रीमतीको हत्या गरी फरार रहेको आरोपमा प्रहरीले श्रीमानलाई पक्राउ गरेर आज सार्वजनिक भएको छ । 

हत्याको करिब तीन महिनापछि प्रहरीले धनुषाको लक्ष्मिनीयाँ गाउँपालिकाको वडा नंं ५ बनिनियाँका वर्ष ४० को हरिराम यादवलाई पक्राउ गरी सार्वजनिक गरेको हो ।

हरिरामले गत वर्षको चैत १७ गते दिउँसो करिब १ बजेको समयमा २५ वर्षीया श्रीमती अञ्जलि यादवलाई हत्या गरेर शवलाई कुल देवताको पूजा गर्ने घरमा खाल्डो खनेर शवलाई गाडी माथिबाट ढलान गरेका थिए । 

प्रहरी उपरीक्षक नरहरी रेग्मीले भारतमा मजदुरीको काम गर्दै आएका हरिरामको श्रीमतीसँग झगडा हुँदै आएकोमा घटनाको दिन कुटपिट गरी हत्या गरेर शवलाई गाडेर फरार भएका थिए । 

जिल्ला प्रहरी कार्यालय र ईलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटेको अनुसन्धान टोलीले ताल्चा तोडी घरभित्र कुलदेवी भएको कोठामा हेर्दा नयाँ ढलान गरेको देखेपछि प्रहरीले उक्त स्थानमा खन्दा करिब २ फिट मुनि नग्न गाडेको अवस्थामा शव फेला पारेको थियो ।

प्रहरीले हरिरामलाई बिहीबार बिहान करिब ९ बजेको समयमा सीमावर्ती क्षेत्र धनुषाको जनकनन्दिनी गाउँपालिका वडा नंं ४ स्थित खजुरी रेल्वे स्टेशनबाट पक्राउ गरेको प्रहरी उपरीक्षक रेग्मीले पत्रकार सम्मेलनमा जानकारी दिनु भयो । 

हरिरामले श्रीमतीको हत्या पश्चात् १० महिने छोरीलाई लिएर भागेकोमा उनी पक्राउ परेपनि शिशुको अवस्था अज्ञात रहेको छ । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button