तपाईँ सुन्दै हुनुहुन्छः

यू–१६ कर्णाली छनोट: सुर्खेतले उपाधि जित्यो

सुर्खेत । कर्णाली प्रदेशस्तरीय अन्डर–१६ क्रिकेट छनोट प्रतियोगिताको उपाधि सुर्खेतले जितेको छ । 

फाइनलमा कालिकोटलाई ५२ रनले हराउँदै सुर्खेतले उपाधि चुमेको हो । टस जितेर पहिले ब्याटिङ गरेको सुर्खेतले निर्धारित १५ ओभरमा सात विकेटको क्षतिमा ११७ रन बनाएको थियो । 

सुर्खेतका नमनसिंह थापाले सर्वाधिक २७ रन बनाए । २८ बलको सामना गरेका थापाले चार चौका प्रहार गरे । कालिकोटका धिरेन्द्र शाहीले तीन ओभरमा २२ रन खर्चिएर दुई विकेट लिए भने नवीन न्यौपाने, कवि बम र निखिल तिरुवाले एक–एक विकेट लिए । जवाफी ब्याटिङ थालेको कालिकोटले चार विकेट गुमाएर ६५ रन मात्रै बनाउन सक्यो । कालिकोटका कप्तान नवीन न्यौपाने २ रनमै रन आउट भएका थिए । ओपनर विपिन शाही अन्तिमसम्म क्रिजमा रहे पनि रन बनाउन सकेनन् । उनले ३८ बल खेल्दा जम्मा १९ रन बनाए । सुर्खेतका अफजल आलम, विजय शाही र रोशन शाहीले एक–एक विकेट लिएका थिए । 

खेल समापन कार्यक्रममा कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री राजीवविक्रम शाहले खेल क्षेत्रलाई प्रोत्साहन गर्ने गरेर सरकारले आगामी वर्षको नीति, कार्यक्रम र बजेट ल्याउने बताउनु भयो । क्रिकेट जस्तो खेलमा कर्णालीले उल्लेख्य सफलता प्राप्त गरेको बताउँदै उहाँले पूर्वाधार निर्माणमा सरकारले ध्यान दिएको जनाउनु भयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button