पर्यटन बोर्डमा ‘कुन्डलिनी’ चित्रकला प्रदर्शनी
काठमाडौँ। नेपाल पर्यटन बोर्डको नियमित ‘फोटो–नेपाल’ प्रदर्शनी कार्यक्रमअन्तर्गत ‘कुन्डलिनी–२’ शीर्षकमा एकल चित्रकला प्रदर्शनी तथा ‘कुन्डलिनी योग’ पुस्तकको लोकार्पण गरिएको छ । बोर्ड परिसरमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेको प्रमुख आतिथ्यमा ती दुवै कार्यक्रम भएका हुन् ।
चित्रकार भीमप्रसाद शर्माको यो १३औँ एकल चित्रकला प्रदर्शनी हो । कार्यक्रममा नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छाली, राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्मालगायत विशिष्ट अतिथिहरूको उपस्थिति थियो ।
सो अवसरमा पर्यटनमन्त्री पाण्डेले सिर्जनात्मक प्रदर्शनीहरूले कला, संस्कृति र पर्यटन प्रवर्द्धनमा महत्त्वपूर्ण योगदान पु¥याउने बताउनुभयो । उहाँले यस्ता रचनात्मक कार्यक्रमलाई निरन्तरता दिएकामा बोर्डको प्रशंसा गर्दै कला, संस्कृति र सांस्कृतिक सम्पदाको जगेर्नामा सबैको सहकार्य र सक्रियता आवश्यक पर्ने उल्लेख गर्नुभयो ।
बोर्डका प्रमुख कार्यकारी अधिकृत (सिइओ) दीपकराज जोशीले पर्यटन बोर्डले आगामी दिनमा कलाकार र फोटोग्राफरहरूसँग सहकार्य गरी मुलुकको पर्यटन प्रवर्द्धनलाई प्रभावकारी बनाउने प्रतिबद्धता जनाउनुभयो । यही जेठ १० गतेसम्म हुने प्रदर्शनी अवलोकन गर्न निःशुल्क रूपमा सर्वसाधारणका लागि खुला रहनेछ ।
बोर्डले सञ्चालन गर्दै आएको फोटो–नेपाल अभियानअन्तर्गत बोर्डको पोर्टलमा मासिक फोटो प्रतियोगितासमेत जारी छ । यस प्रतियोगितामा हरेक महिनाका उत्कृष्ट तीन तस्वीरलाई जनही रु २५ हजार नगद पुरस्कार प्रदान गरिने बोर्डले जनाएको छ ।
नेपालका हिमाल, सांस्कृतिक सम्पदा, प्राकृतिक सौन्दर्य, उजागर नभएका र प्रचार नपुगेका गन्तव्यहरू समेटिएका तस्वीर पठाउन बोर्डले देशविदेशका फोटोग्राफरलाई आह्वान गरेको छ । बोर्डले सन् २०१६ फेब्रुअरीदेखि सुरु गरेको ‘फोटो–नेपाल’ अभियानअन्तर्गत हालसम्म एक सय भन्दाबढी कला तथा फोटो प्रदर्शनीहरू सफलतापूर्वक सम्पन्न गरिसकेका छन् ।
प्रतिक्रिया राख्नुहोस्