भ्रष्टाचार नियन्त्रण, सुशासनको स्थापनाका लागि सरकारको ध्यानाकर्षण
काठमाडौँ । प्रतिनिधि सभाको आजको बैठकमा सांसदहरुले भ्रष्टाचार नियन्त्रण, सुशासनको स्थापना र अराजकताको अन्त्यका लागि संविधान अनुकूलका कानुनहरू निर्माणका विधेयक ल्याउन सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

बैठकको विशेष समयमा नेपाली काँग्रेसका सांसद अर्जुन नरसिंह केसीले मुलुकमा देखिएको भ्रष्टाचार, वित्तीय अनुशासनहीनता र अराजकताको अन्त्यका लागि अख्तियार सम्बन्धी तेस्रो संशोधन विधेयक छिटो ल्याउनु जरुरी रहेको बताउनुभयो ।
उहाँले कृषि क्षेत्रलाई आधुनिक र प्रविधिमैत्री बनाउनु पर्ने, कृषिजन्य उद्योग स्थापना, कृषिमा छुट्टाइएको अनुदान किसानलाई उपलब्ध गराउन र मलखाद, बिउ तथा सिँचाइ सुविधाको व्यवस्थापन समयमा गर्न सरकार गम्भीर हुनुपर्ने बताउनुभयो ।
नेकपा एमालेका मुख्य सचेतक महेशकुमार बर्तौलाले संसद्को समग्र प्रभावकारिताका लागि सिङ्गो संसद् र सबै राजनीतिक दलहरू जिम्मेवार र सचेत हुनुपर्ने बताउनुभयो ।
सांसद बर्तौलाले सबै श्रमिकहरूलाई सामाजिक सुरक्षा कोषमा जोड्नुपर्ने भन्दै देशमा हरेका अनौपचारिक क्षेत्रका झण्डै ४० लाख मजदुर, श्रमिक र स्वरोजगार व्यक्तिहरूलाई सामाजिक सुरक्षाकोमा जोड्ने गरी प्रभावकारी बजेट व्यवस्थापन गनुपर्नेमा जोड दिनुभयो ।
नेकपा माओवादी केन्द्रका सांसद दुर्गा राईले संविधानमा व्यवस्था भएका विषयहरूलाई कार्यान्वयनमा ल्याउन ऐन निर्माणका लागि समयमा नै विधेयक ल्याउन सरकारसँग माग गर्नुभयो ।
उहाँले सुशासन कायम गरी मुलुकलाई समाजवाद तर्फ अगाडी बढाउनका लागि ऐन निर्माण, सरकारका नीति तथा गतिविधिहरू समाजवादतर्फ उन्मुख गर्नेगरी अगाडी बढ्नु जरुरी रहेको बताउनुभयो ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद अशोककुमार चौधरीले मुलुकको आर्थिक अवस्था कमजोर भएको समयमा सरकारले गभर्नर नियुक्ति गर्न नसक्नुले अझै जटिल थप्न सक्ने धारणा राख्नुभयो ।
बैठकमा सांसदहरु ध्रुवबहादुर प्रधान, शेरबहादुर कुँवर, रन्जुकुमारी झा, रेखा यादव, रामप्रकाश चौधरी, प्रेम सुवाल, प्रभु शाह, डा. अमरेशकुमार सिंह लगायतले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराउनुभयो ।
प्रतिक्रिया राख्नुहोस्