तपाईँ सुन्दै हुनुहुन्छः

माओवादीको ध्यान सरकार ढलाउनेतिर छैन : अध्यक्ष प्रचण्ड

दैलेख । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो पार्टीको ध्यान सरकार ढलाउनेतिर नभएको बताउनुभएको छ । 

जनतासँग माओवादी (मध्यपहाडी लोकमार्ग) जनता जागरण अभियानअन्तर्गत दैलेखमा आयोजित सभामा अध्यक्ष दाहालले सरकारले गरिरहेका गलत कामप्रति भने निरन्तर खबरदारी गरिरहेको बताउनुभयो ।

मधेस आन्दोलन समाधानदेखि संविधान कार्यान्वयनसम्म माओवादी केन्द्रको भूमिका ऐतिहासिक रहेको उल्लेख गर्दै अध्यक्ष दाहालले वर्तमान सरकारलाई जनमुखी बनाउन पहल गरिने बताउनुभयो । मध्यपहाडी लोकमार्गको प्रस्ताव आफू प्रधानमन्त्री हुँदा नै राखेको र यो मध्य पहाड तथा हिमालमा बस्ने जनताको हितलाई विचार गरेर प्रस्ताव गरिएको उहाँको भनाइ थियो । 

अध्यक्ष दाहालले भन्नुभयो, “जनताले नै तीन पटक सरकारको नेतृत्व गर्ने ठाउँसम्म पुर्‍याएका र जनताका पीरमर्का बुझेर तिनलाई सम्बोधनको प्रयास गरिने बताउनुभयो । उहाँले सबै समुदायसँग संवाद गर्दै जनताको आवाज सरकार समक्ष पुर्‍याउने लक्ष्य लिएको उहाँको भनाइ थियो । मध्यपहाडी लोकमार्गले आर्थिक, सामाजिक तथा पर्यटकीय क्षेत्रमा परिवर्तन ल्याउने अध्यक्ष दाहालले बताउनुभयो ।

दैलेख ऐतिहासिक, सांस्कृतिक, आर्थिक, प्राकृतिक, विभिन्न जातजातिको उद्गम थलो भएको उल्लेख गर्दै उहाँले बसाइँसराइ रोक्न शिक्षा, स्वास्थ्य, कृषि, जडीबुटी तथा पर्यटन क्षेत्रमैत्री नीति आवश्यक रहेकामा जोड दिनुभयो । पेट्रोलियम पदार्थ उत्खननमा आफ्नो पार्टीले उल्लेखनीय भूमिका निर्वाह गर्ने अध्यक्ष दाहालले बताउनुभयो । 

कार्यक्रममा वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उपाध्यक्षहरू नन्दकिशोर पुन, अग्नि सापकोटा र पम्फा भुसाल, महासचिव देव गुरुङ, उपमहासचिव जनार्दन शर्मा, कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्री महेन्द्रबहादुर शाही, पार्टीको कर्णाली प्रदेश इन्चार्ज कालीबहादुर मल्ल लगायतका नेताहरूको उपस्थिति रहेको थियो । 

यही जेठ २ गतेदेखि बैतडीको पाटनबाट जनतासँग माओवादी (मध्यपहाडी लोकमार्ग) जनता जागरण अभियान सुरु भएको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button