‘विनियोजन विधेयक यथार्थपरक, आत्मनिर्भर र दिगो विकासमा केन्द्रित’
काठमाडौँ । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकता मुलुकको वर्तमान आर्थिक अवस्था र स्रोत व्यवस्थापनको क्षमताका आधारमा तय गरिएको स्पष्ट पार्नुभएको छ ।
आर्थिक वर्ष २०८२र८३ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्ताव बाहेक) माथिको छलफलमा सांसदहरूले उठाउनुभएको जिज्ञासाको जवाफमा उहाँले यथार्थलाई आत्मसात गरेर सरकार अगाडि बढ्न लागेको बताउनुभयो ।
अर्थमन्त्री पौडेलले लोकतान्त्रिक मूल्यमा आधारित समाजवाद र समृद्ध नेपाल, सुखी नेपाली को राष्ट्रिय आकाङ्क्षालाई सम्बोधन गर्ने गरी बजेटको दिशा तय गरिने स्पष्ट पार्नुभयो ।
अर्थमन्त्री पौडेलले आत्मनिर्भर अर्थतन्त्र निर्माणका लागि निजी क्षेत्रको मनोबल वृद्धि गर्ने, आत्मविश्वास बढाउँदै लैजाने, रोजगारी सृजना गर्ने तथा उत्पादनशीलता र प्रतिस्पर्धी क्षमता बढाउनुपर्ने अपरिहार्य रहेको उल्लेख गर्नुभयो । आगामी बजेटले दिगो र तीव्र गतिको आर्थिक विकासलाई केन्द्रमा राखेको र त्यसकै आधारमा संविधानमा उल्लिखित मौलिक हकहरू पूर्ण कार्यान्वयन हुने सुनिश्चितता गरिने बताउनुभयो ।
उहाँले तीन तहका सरकारबीच प्रभावकारी समन्वय र सहकार्यलाई विशेष ध्यान दिइएको उल्लेख गर्दै बजेट अनुशासन र सार्वजनिक वित्त सन्तुलनलाई पनि केन्द्रमा राखिएको जानकारी दिनुभयो । नागरिकले सरल र प्रविधिमैत्री सेवा प्राप्त गर्न सकुन् भन्ने लक्ष्यसहित प्रविधिको पहुँच विस्तार, सुशासन र भ्रष्टाचार नियन्त्रणलाई प्राथमिकता दिइएको उहाँको कथन छ ।
प्रतिक्रिया राख्नुहोस्