राष्ट्रियसभाका अध्यक्ष दाहालसँग चीनको एनपीसी उपाध्यक्षको भेटवार्ता
काठमाडौँ । राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालसँग चीनको राष्ट्रिय जनकङ्ग्रेस स्थायी समितिका उपाध्यक्ष सियाओ जीले भेटवार्ता गर्नुभएको छ । नेपाल भ्रमणमा रहनुभएका उपाध्यक्ष जीले आज सङ्घीय संसद् भवन बानेश्वरमा भेटवार्ता गर्नुभएको हो ।

भेटमा दुई देशबीचको सम्बन्ध, संसदीय सहकार्य र आपसी हितका विषयमा छलफल भएको थियो ।
सो अवसरमा अध्यक्ष दाहालले नेपाल–चीन सम्बन्ध मानव सभ्यताको विकाससँगै सुरु भएको चर्चा गर्दै पछिल्ला वर्षमा दुई देशबीचको सम्बन्ध झन निकट र प्रगाढ रहेको बताउनुभयो ।
राष्ट्रपति, प्रधानमन्त्रीदेखि विभिन्न राजनीतिक एवम् संसदीय भ्रमणहरूले दुई देशको सम्बन्ध विस्तार र अनुभव आदानप्रदानमा महत्त्वपूर्ण भूमिका खेलेको अध्यक्ष दाहालले बताउनुभयो ।
नेपालले आयोजना गरेको सगरमाथा संवादमा सहभागी हुन आएकोमा खुसी व्यक्त गर्दै अध्यक्ष दाहालले सगरमाथा संवादले सरोकारवाला सबैलाई एकै ठाउँमा ल्याएर अन्तर्राष्ट्रिय, क्षेत्रीय र राष्ट्रिय मुद्दा एवम् चुनौतीहरू सम्बोधन गर्नका लागि सहमति र सहकार्य अघि बढाउन सहयोग पुर्याउने बताउनुभयो ।
सो अवसरमा चीनको राष्ट्रिय जनकङ्ग्रेसको स्थायी समितिका उपाध्यक्ष सियाओ जीले नेपाल चीनको असल छिमेकी देश भएको बताउनुभयो । उहाँले नेपाल रणनीतिक, सांस्कृतिक तथा सामाजिक हिसाबले निकै महत्त्वपूर्ण छिमेकी भएको भन्दै दुई देशले क्षेत्रीय तथा पारस्पारिक विकासमा सहयोगमा गरिरहेको बताउनुभयो ।
प्रतिक्रिया राख्नुहोस्