मुस्लिम सशक्तिकरणका लागि विशेष कार्यक्रम ल्याउने प्रधानमन्त्री ओलीको प्रतिबद्धता
बाँके।प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले मुस्लिम समुदायको सशक्तिकरणका लागि विशेष कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।
मुस्लिम इत्तेहाद संगठनका नवनिर्वाचित पदाधिकारीहरूलाई बधाई दिँदै प्रधानमन्त्री ओलीले मुस्लिम समुदायको हकहित, संरक्षण, उत्थान र विकासप्रति सरकार गम्भीर रहेको बताउनुभयो। समावेशी लोकतन्त्रमा मुस्लिम समुदायको सक्रिय सहभागिता आवश्यक रहेको उहाँको भनाइ थियो।

शिक्षा, स्वास्थ्य, रोजगारी, सांस्कृतिक पहिचान र सामाजिक न्यायको सुनिश्चितताका लागि विशेष कार्यक्रम ल्याइने उल्लेख गर्दै प्रधानमन्त्री ओलीले मुस्लिम किशोरीहरूलाई लक्षित कार्यक्रम आफ्नै कार्यकालमा सुरु गरिने जानकारी दिनुभयो। उहाँले मुस्लिम समुदायको समृद्धि र सशक्तिकरण विना समावेशी राष्ट्र निर्माणको परिकल्पना अधूरो रहने धारणा व्यक्त गर्नुभयो।
संगठनका अध्यक्ष मोहम्मद हारुन हल्वाइले समुदायको वर्तमान अवस्था, समस्या र अपेक्षाबारे प्रधानमन्त्रीको ध्यानाकर्षण गराउनुभएको थियो। भेटवार्तामा नवनिर्वाचित पदाधिकारी, निर्वतमान अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य सेराज फारुकी लगायतको सहभागिता रहेको महासचिव राज मोहम्मद अन्सारीले जानकारी दिनुभयो।








प्रतिक्रिया राख्नुहोस्