तपाईँ सुन्दै हुनुहुन्छः

डडेल्धुरामा उत्पादित भटमासको तेल बजारमा 

डडेल्धुरा । निजी लगानीकर्ताहरूको आर्थिक लगानीमा डडेल्धुरामा सञ्चालन भएको भटमास उद्योगबाट प्रशोधन गरिएको तेल र सोया बजारमा आएको छ । 

फार वेस्टर्न एग्रो जोईन्ट लिमिटेड नामबाट सञ्चालित उक्त उद्योगबाट प्रशोधित भटमासबाट बनेको रमशिलाको शुद्ध तेल र सोया बजारमा उपलब्ध हुँदै आएको हो । करिब छ करोड भन्दा बढी लगानी भइसकेको फारवेस्टर्न एग्रो जोइन्ट लिमिटेडले अहिले बजारमा दुईवटा उत्पादन ल्याएको छ भने अन्य उत्पादन पनि ल्याउने तयारीमा छ । 

 ७७७ जना शेयर सदस्य रहेको उद्योगमा सुदूरपश्चिम प्रदेश सरकारले एक करोड रकम अनुदान सहयोग गरेको छ भन्ने अन्य रकम शेयर सदस्यको लगानीबाट निर्माण भएको हो । उद्योगमा केही दिन अघि नेपाल पत्रकार महासङ्घ सुदूरपश्चिम प्रदेश समितिका पदाधिकारीहरूको टोलीलाई जानकारी गराउनुहुँदै फारवेस्टर्न एग्रो जोइन्ट लिमिटेडका पूर्व अध्यक्ष एवम् सुदूरपश्चिम प्रदेशका माननीय सदस्य डा.ताराप्रसाद जोशीले पहाडमा हुने भटमासलाई सङ्कलन गरेर यहीबाट तेल उत्पादन गर्ने र यहाँका बेरोजगार युवाहरूलाई रोजगारी सिर्जना गर्ने उद्देश्य बोकेर सुरुवात गरिएको बताउनुभयो । 

 भटमास प्रशोधन गरि तेल,मस्यौरा, पिना लगायतका उत्पादन गर्ने लक्ष्यका साथ उद्योग स्थापना गरिएको उद्योगका अध्यक्ष धर्म ऐरले बताउनुभयो । अमरगढी नगरपालिका १ मौरडामा पर्ने उक्त उद्योग १३० रोपनी जमिनमा स्थापना गरिएको छ । उद्योगको परीक्षण उत्पादन २०७९ साल कात्तिक २७ गते गरिएको थियो । मस्यौरा (सोयाबिन) को परीक्षण उत्पादन सुरु भएको जानकारी सहित उद्घाटन गरिएको भएपनि त्यसको १६ महिनापछि उद्योगले बजारमा तेल र सोया ल्याउन सफल भएको छ । उत्पादित भएको तेल र सोया बजारमा पुगेपछि ग्राहकले मन पराइरहेको डडेल्धुराका व्यापारी डम्बर साउँद बताउनुहुन्छ । 

 फारवेस्टर्न एग्रो जोइन्ट लिमिटेडका पूर्व अध्यक्ष जोशीले उद्योग फुल फेजमा आउन अझै समय लाग्ने बताउनुभएको छ । बजारको माग अनुसार उत्पादन गर्न हामी लागिरहेका छौँ तर आर्थिक अभावले ठुलो मात्रामा भटमास स्टोरेज गर्न सकिरहेका छैनौ डा.जोशीले भन्नुभयो । ‘यो उद्योग मेरो कन्सेप्ट अनुसार सुरु भएको हो । यसमा सबै राजनीतिक दल र उद्योगी ब्यबसायीहरुको साथ र सहयोग छ अब छिट्टै सुदूरपश्चिम भरी तेल र सोया बजार बजारमा पुर्‍याउने हाम्रो तयारी छ ।

 ‘भौतिक पूर्वाधार निर्माण सँगै उपकरण खरिद गर्नमै ठुलो रकम खर्च भएको छ अब भटमास सङ्कलन र बजारमा माग अनुसारको तेल उत्पादन गर्नै तयारीका साथ टिम परिचालित भएको छ डा.जोशीको भनाई थियो । उद्योगमा हाल सम्म शेयर सदस्यहरूको तीन करोड, बैङ्कको ऋण दुई करोड र सुदूरपश्चिम प्रदेश कृर्षी मन्त्रालय, कृषि ज्ञान केन्द्र र प्रधानमन्त्री कृषि आधुनिकीकरण भटमास जोनबाट भवन निर्माण र उपकरणमा गरि एक करोड रकम अनुदान प्राप्त भई खर्च भएको उहाँले जानकारी दिनुभयो । 

उद्योगले जग्गा खरिद  भवनहरू निर्माण, उपकरण खरिद, भटमास खरिद, बिजुली जडानमा उक्त खर्च गरेको छ । डडेल्धुरा सदरमुकाम बागबजार देखि उद्योग पुग्न करिब दुई किलोमिटर टाढा रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button