तपाईँ सुन्दै हुनुहुन्छः

पोखरामा ‘तेस्रो तीज सांस्कृतिक महोत्सव’ सुरु 

पोखरा । पोखराको लेकसाइडस्थित बाराहीघाट चौरमा ‘तेस्रो तीज सांस्कृतिक महोत्सव–२०८२’ सुरु भएको छ । १० हजार पर्यटक भित्राउने लक्ष्यसहित पर्यटन व्यवसायी महिला संघ नेपाल (टेवान) को आयोजनामा मङ्गलवारदेखि पोखरामा उक्त महोत्सव सुरु भएको हो ।

हरितालिका तीजको अवसरमा आयोजित महोत्सवको उद्घाटन गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री बिन्दुकुमार थापाले गर्नुभयो । महिलाहरूले वर्ष दिन आफूले भोगेका बेदना गीतका माध्यमबाट पोख्ने चाडलाई अब महिला सृजनशील र उद्यमशीलतामा जोड दिनुपर्ने उहाँको सुझाव थियो । 

महोत्सवमा प्रदेश सांसद प्रकाश बराल, कास्कीकी प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मा, पोखरा महानगरपालिका–२ का वडाध्यक्ष दिवसमान प्रधानाङ्ग, नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशका प्रमुख मणिराज लामिछाने, पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारी, पोखरा भ्रमण बर्ष २०२५ का संयोजक गोपी बहादुर भट्टराई, कलाकार हरिदेवी कोइराला, महिला सञ्जाल बैदामकी अध्यक्ष बबिता मल्लले सभ्य र अनुशासित रूपले तीज मनाउनुपर्नेमा जोड दिनुभयो ।

प्रतियोगितामा सहभागी अधिकांश महिला समूहले पर्यटनसँग जोडेर तीज गीत प्रस्तुत गर्नुभएको छ । पोखराको फेवा ताल संरक्षण, पर्यटकीयस्थलको प्रवर्द्धन, पर्यटनमा महिला सहभागिता, महिला सशक्तीकरण लगायत विषय प्रतियोगी समूहले गीतमार्फत उठान गर्नुभएको छ । 

महोत्सव संयोजक शान्ता सुवेदी तिमिल्सिनाले बुधबार रस्साकस्सी, घैँटो फुटाउने, साडी दौड जस्ता रमाइला खेलकुदसँगै महिला सशक्तीकरण सम्बन्धी दुईवटा ‘टक सो’ (संवाद कार्यक्रम) हुने बताउनुभयो ।

तीज गीत प्रतियोगितामा पहिलो हुने टिमले ३५ हजार, दोस्रोले २५ हजार, तेस्रोले २० हजार र सान्त्वना १० समूहले ४–४ हजार रुपैयाँ प्राप्त गर्नेछन् । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button