लामाचौर कप भलिबलको उपाधि ढुङ्गे देउरालीलाई
पोखरा । पोखरामा मङ्गलवार सम्पन्न भएको लामाचौर कप खुला पुरुष भलिबल प्रतियोगिताको उपाधि ढुङ्गे देउराली क्लबले जितेको छ । नवआदर्श सामुदायिक विकास समाजको आयोजनामा मङ्गलवार भएको फाइनलमा जिएम समाज कावासोतीलाई ३–२ सेटमा पराजित गर्दै उपाधिसहित नगद ३ लाख हात पारेको हो ।

उपविजेता जिएम समाज कावासोतीले १ लाख ५० हजार प्राप्त गर्यो । खचाखच दर्शक माझ अत्यन्तै प्रतिस्पर्धात्मक खेलमा पहिलो सेट गुमाएको भए पनि स्याङ्जा पौवेगौडेको ढुङ्गे देउरालीले २२–२५, २५–१८, २५–२७, २६–२४ र १५–१२ सेटले उपाधिमा आफ्नो पोल्टामा पार्न सफल भएको हो ।
विधागत पुरस्कारमा ढुङ्गे देउरालीले नै वर्चश्व कायम गर्न सफल भयो । बेस्ट स्पाइकर सञ्जुविक्रम शाह, बेस्ट डिफेन्डर राजन दर्लामी, बेस्ट सर्भर किसान गुरुङ, इमर्जिङ प्लेयर सुगम सुनार र बेस्ट कोच विक्रम नेपाली घोषित हुनुभयो । जिएम समाजका विवश आले बेस्ट सेटर र हिमाल सुनारी बेस्ट ब्लकर घोषित भएको नेपाल भलिबल संघ केन्द्रीय उपाध्यक्ष यामबहादुर गुरुङले बताउनुभयो ।
यसैगरी, लामाचौर कप अन्तर मावि छात्रा भलिबल प्रतियोगिताको उपाधि शान्ता माविले जितेको छ । फाइनलमा टप्स माविलाई ३–१ सेटमा पराजित गर्दै उपाधि सहित नगद १ लाख जितेको हो । उपविजेताले ५० हजार पुरस्कार प्राप्त गरेको छ ।
समाजको २९ औँ वार्षिक समारोह एवं तीज अवसरमा २७ औँ संस्करणको लामाचौर तीज महोत्सव अन्तर्गत लामाचौर कप आयोजना गरेको हो । सो अवसरमा खेलकुद सहित विविध सांस्कृतिक एवं साङ्गीतिक कार्यक्रम भएको अध्यक्ष इ.दिनेश भण्डारीले बताउनुभयो ।
प्रतिक्रिया राख्नुहोस्