तपाईँ सुन्दै हुनुहुन्छः

‘महिला हिंसा रोक्न तथा आर्थिक रूपान्तरण हुन जरुरी’ 

जनकपुरधाम । मधेश प्रदेशका ६ जिल्लाका १२ पालिकामा महिला सशक्तीकरणका लागि सञ्चालन भएको ‘सशक्त महिला समृद्ध नेपाल’ कार्यक्रम प्रभावकारी देखिएको छ । 

संयुक्त राष्ट्रसङ्घीय जनसङ्ख्या कोषसहित राष्ट्रसङ्घका विभिन्न ४ वटा संस्थाको सहयोगमा सञ्चालन भएको अभियानले ती पालिकाहरूमा महिलाहरूको सामाजिक रूपान्तरण, आर्थिक सशक्तीकरण तथा नेतृत्वका विकासमा ठूलो योगदान दिएको पालिकाका सामाजिक शाखाहरूले जनाएका छन् । 

कार्यक्रमको एक वर्षको अवधिमा पालिकामा भएको कामका विषयमा लाईफ नेपालको समन्वयमा आज महोत्तरीको बर्दिबासमा सम्पन्न भएको वार्षिक समीक्षा कार्यक्रममा सहभागी भएका पालिका उपप्रमुख तथा प्रमुख प्रशासकीय अधिकृतहरूले महिलासँगै पुरुषको आय आर्जनमा कार्यक्रमले ठूलो मद्दत पुगेको जनाएको छ । 

मधेश प्रदेशका महिला सशक्तीकरणका दृष्टिकोणले पछाडि परेका पर्सा जिल्लाको वीरगञ्ज महानगरपालिका, विन्दवासिनी र पकहा मैनपुर, बारा जिल्लाका आदर्श कोतवाल, रौतहट जिल्लाका बौद्धिमाई, यमुनामाई, धनुषाको जनकपुरधाम उपमहानगरपालिका, नगराइन नगरपालिकामा कार्यक्रम सञ्चालनमा रहेको छ ।  

यसैगरी, कार्यक्रम सञ्चालन हुने अन्य जिल्लाका पालिकाहरूमा सिराहा जिल्लाका नवराजपुर, सखुवा ननकारपट्टी र सिराहा नगरपालिका तथा सप्तरी जिल्लाका अग्निसारकृष्णसार गाउँपालिका रहेका संयुक्त राष्ट्रसङ्घीय जनसङ्ख्या कोषका मधेश प्रदेशका प्रमुख डा. नरेन्द्र कुमार मिश्रले जानकारी दिनुभयो । 

मधेश प्रदेशका जिल्लाहरूमा चालु आर्थिक वर्षमा ६ सयको सङ्ख्यामा लैङ्गिक हिंसाका घटनाहरू भएको भन्दै कार्यक्रमलाई थप प्रभावकारी बनाउनुपर्ने आवश्यकतामा सहभागीहरूले जोड दिनुभएको थियो । सहभागीहरूले नयाँ संविधानका कारणले महिलाहरूको सशक्तीकरणमा ठूलो मद्दत पुगेको सहभागीहरूले जनाएका छन् । 

कार्यक्रममा मधेश प्रदेशका खेलकुद तथा समाज कल्याण मन्त्रालयका सचिव चूडामणि फ्युयालले मधेश प्रदेशका जिल्लाहरूमा लैङ्गिक हिंसाको घटना अन्य प्रदेशको तुलनामा बढी हुनु चिन्ताको विषय भएको बताउनुभयो । उहाँले कानून बनाउनमा सबै तहका सरकार अग्रगामी भए पनि सोको कार्यान्वयनमा पछि रहेको बताउनुभयो । 

सशक्त महिला, समृद्ध नेपाल कार्यक्रम सञ्चालन भएका पालिकाका तर्फबाट १ वर्षको अवधिमा पालिकामा गरेको कामकाजका विषयमा प्रस्तुति गर्नुभएको लाइफ नेपालका अध्यक्ष सुरैत ठाकुरले जानकारी दिनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button