बागलुङको गाजा दहमा पर्यटकीय पूर्वाधार निर्माण

बागलुङ । बागलुङको धार्मिक रूपमा महत्त्वपूर्ण क्षेत्र मानिएको गाजा दहमा पछिल्लो समय पर्यटकीय पूर्वाधार थपिन थालेका छन् ।
समुन्द्री सतहबाट दुई हजार ५ सय मिटरको उचाइमा अस्थित जैमिनी नगरपालिका–३ मा रहेको गाजा दहमा पछिल्लो समय पर्यटकीय पूर्वाधार थपिन थालेका हुन् ।
जैमिनी नगरपालिका, गलकोट नगरपालिका, काठेखोला गाउँपालिका र बरेङ गाउँपालिकाको शिरमा रहेको गाजदहमा जैमिनी नगरपालिका र स्थानीयको अगुवाइमा ताल संरक्षण, पूर्वाधार तथा सिद्ध बराहको मन्दिर निर्माणलगायत पूर्वाधार थपिँदै गएका हुन् ।
अहिले मन्दिर निर्माणको चरणमा रहेको छ भने गाजा दहलाई पृष्ठभूमिमा पारेर तस्बिर खिच्नेगरी झुलासहितको पूर्वाधार गत वर्ष निर्माण गरिएको जैमिनी नगरपालिकाले जनाएको छ । ताल वरपर परम्परागत शैलीमा ढुङ्गा छपाएर रेलिङसहितको पदमार्ग निर्माण गरिएको छ ।
गाजादहमा पूर्वाधार निर्माण गर्न महायज्ञ लगाएर सहयोग रकमसमेत सङ्कलन गरिएको जैमिनी–३ का वडाध्यक्ष कृष्णबहादुर भुजेलले जानकारी दिनुभयो । उहाँले प्रदेश र स्थानीय सरकारले पूर्वाधार निर्माणमा सामान्य सहयोग गरे पनि थप पूर्वाधार निर्माणका लागि महायज्ञमार्फत ७२ लाख सङ्कलन गरिएको जानकारी दिनुभयो ।
उहाँका अनुसार अहिले दहभित्र २० फिटको सिद्ध बराहको मन्दिर निर्माण भइरहेको छ । स्थानीयको १० लाख र महायज्ञको १० लाख गरी २० लाखको लागतमा सिद्ध बराहको मन्दिर निर्माण थालिएको उहाँले बताउनुभयो । सदरमुकाम बागलुङ बजारबाट २४ किलोमिटरको यात्रा पूरा गरेपछि पुग्न सकिने गाजादहमा रहेको सिद्ध बराहको थानमा जैमिनी, गलकोट, बागलुङ, काठेखोला र बरेङका बासिन्दाहरू नियमित रुपमा पूजा गर्दै आएका छन् ।
गाजादहबाट धौलागिरी, अन्नपूर्ण, माछापुच्छ्रे«लगायत एक दर्जन हिमशृङ्खला देख्न सकिने स्थानीयको भनाई रहेको छ । हरेक वर्ष सिद्ध थानमा बैकुण्ठ चतुर्दशी तथा बाला चतुर्दशीमा परम्परागत मेला लाग्ने भएकाले दहको महत्त्व बढ्दै गएको वडा अध्यक्ष भुजेलले उल्लेख गर्नुभयो । प्रचारप्रसार र पूर्वाधारको अभावले ओझेलमा परेको गाजा दहलाई संरक्षण र प्रवद्र्धन गर्न स्थानीय अग्रसर भएपछि पूर्वाधार निर्माणले गति लिन थालेको उहाँको भनाई थियो ।
प्रतिक्रिया राख्नुहोस्