बाँकेमा ५५ हजारभन्दा बढीको ‘पारिवारिक स्वास्थ्य प्रोफाइल’ तयार

बाँके । लुम्बिनी प्रदेश सरकारले समुदायस्तरमा प्रत्येक व्यक्तिको स्वास्थ्य विवरण सङ्कलन गर्न ‘पारिवारिक स्वास्थ्य प्रोफाइल’ तयार गर्ने अभियान सुरु गरेको १ महिनामा बाँकेमा ५५ हजार ८ सय २३ जनाको मोबाइल एपमार्फत पारिवारिक स्वास्थ्य विवरण सङ्कलन गरिएको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ ।
‘पारिवारिक स्वास्थ्य प्रोफाइल’ तयार भएपछि महिला, बालबालिका र किशोरीको स्वास्थ्य तथा पोषणमा सुधार आउने बताउँदै प्रोफाइल तयार गरिरहेको अवस्थामा डुडुवाको सबैभन्दा दुर्गम बोडर चौफेरीमा भेटिनुभएकी सि अनमी सिमा घर्तिमगर खानले भन्नुभयो, “यो अभियानले नियमित रुपमा सेवाको उपभोगको लागि सेवाग्राही र सेवा प्रदायकको मोबाइलमा सन्देश पठाई सेवाको उपभोग र पहुँचमा अभिवृद्धि गर्ने छ ।”
स्वास्थ्य कार्यालय बाँकेका निमित्त प्रमुख नरेश श्रेष्ठले पारिवारिक स्वास्थ्य विवरण सङ्कलन गर्न बाँकेको ८ वटा पालिकाका ८१ वटै वडामा १६२ जना स्वास्थ्यकर्मी परिचालन गरे पनि नेपालगंजमा डाटा सङ्कलन चाहे जतिको हुन नसकेपछि थप स्वास्थ्यकर्मी परिचालन गरिएको बताउनुभयो ।
कोहलपुर नगरपालिकामा ११ हजार ४१ जना, बैजनाथ गाउँपालिकामा ९ हजार ५ सय ९१, राप्ती सोनारी गाउँपालिकामा ९ हजार ३ सय ७२, खजुरा गाउँपालिकामा ६ हजार ९ सय ८३, नरैनापुर गाउँपालिकामा ५ हजार ६ सय ७, डुडुवा गाउँपालिकामा ५ हजार ३ सय ११, जानकी गाउँपालिकामा ४ हजार ४ सय ३५ र नेपालगंज उपमहानगरपालिकामा ३ हजार ४ सय ८३ जनाको प्रोफाइल तयार भएको उहाँले जानकारी दिनुभयो ।
बाँकेमा १ लाख २९ हजार ३ सय ७ घरधुरीमा पुगेर विवरण सङ्कलन गर्नु पर्ने भए पनि हालसम्म ५० प्रतिशत मात्र डाटा सङ्कलन भएको श्रेष्ठले जानकारी दिनुभयो । उहाँले मातृ शिशु मृत्युदर कम गर्न यो अभियानले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताउनुभयो । जटिल अवस्थाका गर्भावस्था (गर्भदेखि सुत्केरी भएको ४२ दिनसम्म), दुई वर्ष मुनिका बालबालिकाहरूको समयमै पहिचान गरी स्वास्थ्य तथा पोषण अवस्थामा सुधार ल्याउन यो अभियान फलदायी रहेको श्रेष्ठको भनाई छ ।
डुडुवाका स्वास्थ्य संयोजक हेमन्त शर्माले यो अभियानअन्तर्गत गर्भवतीदेखि बच्चा जन्मेको दुई वर्षसम्म नियमित निगरानीमार्फत जटिल अवस्थाका गर्भवतीदेखि खोपबाट वञ्चित बालबालिका र पोषण वृद्धि अवस्थाको अनुगमन गरिने र नियमित सेवामा ल्याउनका लागि हरेक घरधुरीमा स्वास्थ्यकर्मी परिचालन गरिने बताउनुभयो ।
बाँकेमा गर्भवतीले नियमित जाँच नगर्ने र स्वास्थ्य संस्थामा सुत्केरी हुन नआउने गरेकाले पनि मातृ मृत्युदर तथा बाल मृत्युदर न्यूनीकरण चुनौतीपूर्ण बन्दै गएको अवस्थामा यो अभियानले सघाउ पुग्नेछ ।
प्रतिक्रिया राख्नुहोस्