तपाईँ सुन्दै हुनुहुन्छः

‘दक्ष जनशक्तिको उत्पादन गर्न जरुरी’

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले मधेश प्रदेशमा सूचना प्रविधिको क्षेत्रमा काम गर्ने दक्ष जनशक्तिको अभाव रहेको बताउनुभएको छ । 

मुख्यमन्त्री सिंहले मधेश प्रदेशका गृह, सञ्चार तथा कानून मन्त्रालयको आयोजना तथा आइटी फाउण्डेशनको सहकार्यमा डिजिटल मधेश मूल आसयसहित महोत्तरी जिल्लाको बर्दिबासमा सूचना प्रविधि सम्मेलनको आज उद्घाटन गर्नुहुँदै मुख्यमन्त्री सिंहले सूचना प्रविधिको विकासले प्रदेशमा सुशासन स्थापना हुने भएकाले मधेश प्रदेश सरकारले यसको प्रयोग अधिकतम रुपम गर्न चाहे पनि हुन नसकेका भन्नुहुँदै प्रदेशमा दक्ष जनशक्तिको उत्पादन जरुरी रहेको बताउनुभयो । 

मुख्यमन्त्री सिंहले युवाहरूलाई स्वदेशमा दक्ष बनाउनुको साटो वैदेशिक रोजगारीमा पठाउने प्रवृत्ति बढ्नु मुलुकका लागि दीर्घकालका लागि ठिक नभएको उल्लेख गर्नुहुँदै सूचना प्रविधिको ज्ञानले मुलुकमा नै मनग्य आम्दानी गर्ने सम्भावना रहेको बताउनुभयो । 

मधेश प्रदेशका गृह, सञ्चार तथा कानून मन्त्री राजकुमार लेखीले मधेश प्रदेशमा सूचना प्रविधि क्षेत्रको विकासका लागि दक्ष जनशक्तिको उत्पादन जरुरी रहेको बताउनुभयो । 

उहाँले मधेश प्रदेश सरकार मधेश प्रदेशमा नै सूचना प्रविधि अनुसन्धान केन्द्र र सूचना प्रविधि प्रतिष्ठान स्थापना गरेर यसको विकास तथा विस्तारमा काम गर्ने पक्षमा रहेको बताउनुभयो । 

मधेश प्रदेशका नीति तथा योजना आयोगका उपाध्यक्ष डा.शोहन साहले सूचना प्रविधिको ज्ञान तथा सीपले स्वदेशमा नै बसेर राम्रो आम्दानी यस क्षेत्रका दक्ष युवाहरूले गरिरहेकाले यसको विकासका लागि काम गर्न आवश्यक भएको बताउनुभयो । 

कार्यक्रममा मधेश प्रदेशका प्रमुख सचिव मदन भुजेल, मधेश प्रदेशका गृह, सञ्चार तथा कानून मन्त्रालयका सचिव विमलप्रसाद बराल सहितका वक्ताहरूले मधेश प्रदेशलाई सूचना प्रविधि प्रदेश बनाउनका लागि दक्ष जनशक्तिको उत्पादन जरुरी रहेको बताउनुभयो । 

सो सम्मेलनमा सूचना प्रविधिका क्षेत्रमा अनुभव भएका व्यक्तिहरूले विभिन्न विषयहरूमा कार्यपत्रसहितका प्रस्तुतिहरू गर्नुभएको थियो ।  

प्रतिक्रिया राख्नुहोस्

Back to top button