तपाईँ सुन्दै हुनुहुन्छः

बागमती प्रदेश युवा सम्मेलन २०८२ः कृषि र युवाको भविष्यबारे ठोस बहस

मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौँडामा सुरु भएको बागमती प्रदेश युवा सम्मेलन २०८२ ले युवाको नेतृत्व, नीति निर्माणमा सहभागिता र कृषि क्षेत्रमा रहेका सम्भावनाहरूबारे गम्भीर बहस सुरु गराएको छ। सम्मेलनको उद्घाटन समारोहमा मुख्यमन्त्री बहादुरसिंह लामाले युवाहरूको नीति निर्माण तहमा सहभागिता अझै पनि गौण रहेको उल्लेख गर्दै चिन्ता व्यक्त गर्नुभयो।

मुख्यमन्त्री लामाले युवालाई श्रममा मात्र सीमित नराखी, नेतृत्व र निर्णय प्रक्रियामा समेत संलग्न गराउनुपर्नेमा जोड दिनुभयो। “युवाको आँखाबाट विकास र सुशासनको खाका कोर्न जरुरी छ,” उहाँले भन्नुभयो। साथै, उहाँले आगामी बजेट तथा नीति कार्यक्रममार्फत युवालाई रोजगारी, उद्यमशीलता, र नेतृत्वमा प्राथमिकता दिने सरकारको प्रतिबद्धता पनि दोहोर्‍याउनुभयो।

सम्मेलनको पहिलो प्यानल छलफल “युवा रोजगारी सिर्जना र कृषि क्षेत्रमा सहभागिता: सम्भावना र चुनौतीहरू” भन्ने शीर्षकमा सम्पन्न भयो। प्यानलमा बागमती प्रदेशका कृषिमन्त्री प्रकाश श्रेष्ठले युवालाई कृषि क्षेत्रमा आकर्षित गर्न नीति सुधार, लगानी विस्तार र प्रविधिको प्रयोग अपरिहार्य भएको धारणा व्यक्त गर्नुभयो।

उहाँले नेपालको उब्जनी माटो, अनुकूल जलवायु र जैविक उत्पादन प्रणालीले अदुवा, अलैँची, लसुन लगायतका नगदे बालीमा निर्यातको ठूलो सम्भावना रहेको बताउनुभयो। आधुनिक प्रविधिको प्रयोग-जस्तै ड्रिप सिँचाइ, ग्रीन हाउस, र प्रि(सिजन फार्मिङबाट उत्पादनमा गुणात्मक वृद्धि सम्भव हुने विश्वास व्यक्त गरियो।

सरकारले कृषि ऋण, बीउ–मल अनुदान, किसान बीमा, तथा व्याज सहुलियतमार्फत युवालाई कृषिमा आकर्षित गर्न प्रयत्नरत रहेको जानकारी दिइयो। तर बजार संरचना कमजोर भएका कारण उत्पादनको मूल्य निर्धारण, भण्डारण, प्रशोधन र वितरणमा सुधार आवश्यक रहेको युवा सहभागीहरूले औँल्याए।

कृषिमन्त्री श्रेष्ठले कृषि पर्यटनलाई ग्रामीण विकासको नयाँ ढोका भएको बताउँदै स्थानीय जीवनशैली, पर्व र परम्परालाई पर्यटनसँग जोडेर आम्दानीको वैकल्पिक स्रोत विकास गर्न सकिने धारणा राख्नुभयो। यसले ग्रामीण युवालाई स्वदेशमै रोजगारीको अवसर दिन सक्ने उहाँको विश्वास थियो।

प्यानल छलफलमा जलवायु परिवर्तन, प्राकृतिक प्रकोप, पुँजीको अभाव, प्रविधिमा पहुँच नहुनु, जमिनको खण्डीकरण र बजारको अस्थिरतालाई कृषि क्षेत्रका मुख्य चुनौतीको रूपमा प्रस्तुत गरियो। यी चुनौती समाधान गर्न नीतिगत सुधार, सहकारी विस्तार र स्थानीय तहसँगको सहकार्य अपरिहार्य ठहरियो।

कृषिमा रोजगारी सिर्जनाका उपायस्वरूप सामुदायिक कृषि परियोजना, आधुनिक प्रविधिको प्रयोग, जैविक खेती प्रवर्द्धन र कृषि शिक्षा तथा अनुसन्धान विस्तार आवश्यक भएको निष्कर्ष निकालियो।

खाद्य सुरक्षालाई आधार मान्दै किसान, उपभोक्ता, उद्योगी र राज्य सबैको साझा जिम्मेवारी रहेको भन्दै स्वच्छ, सुरक्षित र पौष्टिक खाद्य उत्पादनलाई सुनिश्चित गर्नुपर्ने धारणा पनि उठाइएको थियो।

सम्मेलनमा सहभागी युवाहरूले कृषि क्षेत्रमा भविष्य देखेपनि, त्यो सम्भावनालाई मूर्त रूप दिन आवश्यक संरचना, सीप विकास, लगानी र नीति समर्थनमा अझै ध्यान दिनुपर्ने बताएका छन्।

बागमती प्रदेश युवा सम्मेलन २०८२ ले युवाको भविष्य र प्रदेशको समृद्धिलाई कृषि, नवप्रवर्तन र नेतृत्वको सम्मिश्रणमा खोज्ने प्रयास थालेको छ। सरकारको प्रतिबद्धता र युवाको ऊर्जा यदि एउटै दिशामा लाग्न सक्यो भने प्रदेशको विकासको गति अझ तीव्र हुने कार्यक्रमका सभाध्यक्ष युवा परिषद्का कार्यकारी उपाध्यक्ष सन्तोष चौलागाईंले बताउनुभयो।

प्रतिक्रिया राख्नुहोस्

Back to top button