तपाईँ सुन्दै हुनुहुन्छः

‘मेलम्ची बाढीपीडितलाई नदी तटबन्धको लागि तत्काल १६ करोडको व्यवस्था गर्छौं’

सिन्धुपाल्चोक । सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नदीमा आएको बाढीपीडितहरूको राहत तथा नदीको तटबन्धको लागि सरकारले तत्काल कार्यक्रम ल्याउने भएको छ । 

ऊर्जा जलस्रोत तथा सिँचाई मन्त्री दिपक खड्काले बाढी प्रभावित क्षेत्र सिपाघाट, भीमटार, बाहुनेपाटी, मेलम्ची बजार तथा हेलम्बुको वैशाख २९ गते स्थलगत अवलोकन गर्नुभएको थियो । अवलोकनबाट फर्किए लगत्तै मन्त्री खड्काको निर्देशनमा वर्षायाम सुरु हुनु अगावै काम गर्नका लागि १६ करोड रकम बराबरको व्यवस्था गरि तत्काल ठेक्का खोल्न निर्देशन दिनुभएको हो । 

बाढी प्रभावित क्षेत्रको स्थलगत क्षेत्रमा मन्त्री खड्कासहित राज्यमन्त्री खमबहादुर गर्वुजा, सिँचाई सचिव सरिता दवाडी, सिँचाई विभागका महानिर्देशक सञ्जीव बराल, उपमहानिर्देशक सन्तोष कैनी लगायतको टोली पुगेको थियो ।

२०७८ असार १ मा गएको विनाशकारी बाढीपछि मेलम्ची र हेलम्बु क्षेत्र मुख्य प्रताडित बनेको थियो भने बाढीले सिपाघाटसम्म क्षति पुर्याएको थियो । स्थलगत अवलोकनमा पुग्नुभएका मन्त्री खड्काले बिजुली गतिमा काम गर्न निर्देशन दिँदै तत्काल वर्षा यामबाट हुने क्षति रोक्न तत्काल १६ करोड बराबरको ठेक्का लगाएर काम गर्न निर्देशन दिनुभयो ।

सिँचाई विभागका उपमहानिर्देशक सन्तोष कैनीले केही दिनभित्रै १६ करोडको ठेक्का खोल्ने र कामको गति बढाउने बताउनुभयो । 

त्यस अवसरमा सिन्धुपाल्चोक प्रतिनिधि सभा २ बाट निर्वाचित सांसद मोहनबहादुर बस्नेतले मन्त्री खड्का जनताको पक्षमा सशक्त काम गर्ने मन्त्री भएको बताउनुभयो । 

हेलम्बुका स्थानीयवासी एवं पत्रकार विष्णु खड्काले बाढी प्रभावित क्षेत्रमा सरकारले ध्यान दिने हो भने तत्काल पुनर्निर्माण र तटबन्धको काम अगाडी बढाउनुपर्ने बताउनुभयो । 

मेलम्चीको बाढीले तिम्बु बजार, किउल बजार, चनौटे, ग्याल्थुम, तालामाराङ र मेलम्ची बजार नराम्ररी क्षति भएको थियो भने हजारौँ रोपनी जग्गा बगाएको थियो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button