तपाईँ सुन्दै हुनुहुन्छः

पर्सा प्रहरीद्वारा एकै दिन १ सय ९५ फरार प्रतिवादी पक्राउ

वीरगञ्ज । जिल्ला प्रहरी कार्यालय पर्साले एकै दिन १ सय ९५ जना फरार प्रतिवादी पक्राउ गरी अदालतमा बुझाएको छ । 

पर्सा जिल्ला अदालतबाट विभिन्न मिति र समयमा भएका फैसलाहरू कार्यान्वयन गर्ने क्रमलाई तीव्रता दिँदै जिल्ला प्रहरी कार्यालय पर्साले उल्लेखनीय सफलता हासिल गरेको हो ।

प्रहरी उपरीक्षक गौतम मिश्रको विशेष निर्देशनमा गठित कैद असुल तथा फैसला कार्यान्वयन विशेष टोलीले मिति २०८२ वैशाख ३० गते एकै दिन १ सय ९५ जना फरार प्रतिवादीहरूलाई पक्राउ गरी पर्सा जिल्ला अदालतमा दाखिला गरेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक एवं सूचना अधिकारी सुवास भट्टले जानकारी दिनुभयो ।  

विभिन्न मुद्दाहरूमा अदालतबाट जरिवाना तोकिएपछि फरार रहेका यी प्रतिवादीहरू लामो समयदेखि प्रहरीको खोजी सूचीमा थिए । विशेष टोलीले सूचना सङ्कलन, निगरानी र आवश्यक रणनीति अपनाएर जिल्लाका विभिन्न स्थानहरूबाट उनीहरूलाई एकसाथ पक्राउ गर्न सफल भएको पर्सा प्रहरीका सूचना अधिकारी भट्टले बताउनुभयो ।

एकै पटक यति ठूलो सङ्ख्यामा फरार प्रतिवादी पक्राउ पर्नुलाई जिल्ला प्रहरी कार्यालय पर्साले महत्वपूर्ण उपलब्धि मानेको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button