तपाईँ सुन्दै हुनुहुन्छः

पर्यटन विकासका लागि अन्तरप्रदेश सहकार्य आवश्यक: मुख्यमन्त्री आचार्य 

रुपन्देही । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले पर्यटन क्षेत्रको विकासका लागि अन्तरप्रदेश समन्वय र सहकार्य आवश्यक रहेको बताउनुभएको छ।

‘घुमौँ सौराहा, चितवन अभियान २०२५’ को क्रममा भैरहवामा चितवन र रुपन्देहीका व्यवसायीहरूबिच भैरहवामा सोमवार आयोजित कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै मुख्यमन्त्री आचार्यले पर्यटन क्षेत्र एकअर्काको भावना जोड्ने कडी भएको बताउनुभयो ।

उहाँले बागमती प्रदेशको चितवन, गण्डकी प्रदेशको पोखरा र लुम्बिनी प्रदेशबीच पर्यटन लगायत अन्य क्षेत्रको विकासमा समन्वय र सहकार्य हुँदा दुवै प्रदेशलाई लाभ पुग्ने विश्वास व्यक्त गर्नुभयो ।  ‘ लुम्बिनी प्रदेशका पर्यटकीय गन्तव्य र छिमेकी प्रदेशका पर्यटकीय स्थलहरूबिच समन्वय र सहकार्य बढाउनु जरुरी छ ‘ उहाँले भन्नुभयो, “चितवन आउने पर्यटकलाई लुम्बिनी, लुम्बिनी आउने पर्यटकलाई चितवन, पोखरा र अन्य गन्तव्यमा जान मिल्ने व्यवस्था गर्न सकिन्छ । साझा मञ्चको रूपमा विकास गरेर अघि बढ्न सकिन्छ ।”

उहाँले व्यवसाय क्षेत्रको विकासका लागि प्रदेश सरकार अनुकूल वातावरण निर्माण गर्न प्रतिबद्ध रहेको बताउनु भयो ।

कार्यक्रममा सौराहाको विशेषता प्रस्तुत गर्दै सौराहामा स्वदेशी तथा विदेशी पर्यटकलाई आकर्षित गर्ने उद्देश्य लिइएको जानकारी गराइएको थियो । रत्ननगर नगरपालिका र क्षेत्रीय होटल संघ चितवन सौराहाको अगुवाइमा विभिन्न पर्यटनसँग सम्बन्धित सङ्घसंस्थाको सहकार्यमा कार्यक्रम सञ्चालन गरिएको हो ।

नेपालको तेस्रो प्रमुख पर्यटकीय गन्तव्यका रूपमा चिनिएको चितवनको सौराहामा हात्ती चढेर गैँडा हेर्न पाइने भएकाले यहाँ स्वदेशी र विदेशी पर्यटकको आकर्षण बढिरहेको छ । कोरोना काल पछिको अवस्थामा पर्यटन उद्योगलाई पुनर्जीवन दिन स्वदेशी पर्यटकहरूको साथ खोजिएको जनाइएको छ ।

चितवन राष्ट्रिय निकुञ्जसँग जोडिएको सौराहा पर्यटक प्रवेश गर्ने प्रमुख प्रवेशद्वारको रूपमा चिनिएको छ । राप्ती नदीको किनारमा अवस्थित सौराहामा वार्षिक झन्डै ४ लाख पर्यटक आउने गरेको विवरण सार्वजनिक गरिएको छ ।

केन्द्रीकृत प्रणाली हटाउन जरुरी रहेको बताउनुहुँदै मुख्यमन्त्री आचार्यले भन्नुभयो अस्वस्थ प्रतिस्पर्धा हुनुहुँदैन । आपसी छलफल गरेर काम गर्नुहोस् प्रदेश सरकार सहयोग गर्न तयार छ । 

क्षेत्रिय होटल संघ नेपाल चितवनका अध्यक्ष ओमप्रकाश पाण्डेले चितवन नेपालको मध्य भागमा रहेको बताउँदै चितवन प्रकृतिले समेत राम्रो रहेको बताउनुभयो । सडकले चितवनका १०/१५ प्रतिशत पर्यटक कम आएको बताउनुभयो । बर्खा भन्दा अघि नै सडक पुरा भए राम्रो हुन्थ्यो । विमानस्थलको आसले होटलमा व्यवसायीले लगानी गरेको तर आन्दोलन गर्नुपर्ने अवस्था आएको दुखेसो पोख्नुभयो । 

जिल्ला समन्वय समितिका प्रमुख उमाकान्त चपाइंले ३ वटा समन्वय समितिले बर्दघाटमा बैठक बसेर प्रधानमन्त्री कहाँ गएको डेलिगेसन पछि लामो छलफल भएर प्रधानमन्त्रीले १५ दिनमा काम नगरे ठेक्का बदर गर्छु भनेपछि सडक बन्न थालेको बताउनुभयो । सडक असार मसान्तसम्म सक्ने गरि लागेको बताउनुभयो । समन्वय प्रमुख चपाइले लुम्बिनी पर्यटनलाई व्यवहारमा परिवर्तन गर्न जरुरी रहेको बताउनुभयो । 

नाटा लुम्बिनी प्रदेश अध्यक्ष चन्द्र बहादुर थापाले घुमौँ सौराहा कार्यक्रमको पूर्ण सफलताको कामना गर्नुभयो । ट्राभल्सले आन्तरिक पर्यटन प्रवर्द्धनका लागि कार्यक्रम गर्दै छौँ ।  थापाले भन्नुभयो ब्यबसायीक प्रवर्द्धनका लागि नाटाले सफलतापूर्वक कार्यक्रम गर्न लागिरहेका छौँ । 

सिद्धार्थ होटेल एसोसिएसन सानका अध्यक्ष चन्द्र प्रकाश श्रेष्ठले पर्यटनले आर्थिक समृद्धि र रोजगारी प्रदान गर्ने बताउनुभयो । पर्यटक आउने प्रमुख नाका बेलहिया हो । भारतीय पर्यटक बढी आउँछन सौराहा पर्यटक बढी आउने क्षेत्र सौराहा हो । नेपालमा पर्यटकलाई  प्रहरीले १० ठाउँमा चेक गरि दुःख दिने गरेको बताउँदै पर्यटकलाई धेरै दुख्न दिएर गलत सूचना प्रवाह हुने बताउनुभयो । रोड कनेक्टिभिटी नभएसम्म पर्यटनको बिकास हुन नसक्ने बताउनुभयो । हामीले हाम्रा गुनासा कसलाई गुनासो पोख्ने भन्दै अध्यक्ष श्रेष्ठले दुखेसो व्यक्त गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button