तपाईँ सुन्दै हुनुहुन्छः

भक्तपुरमा उत्पादन हुने मौलिक उत्पादन जुजु धौ गुणस्तरीय

भक्तपुर । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले भक्तपुरको विभिन्न स्थानमा उत्पादन हुने मौलिक उत्पादन जुजु धौ गुणस्तरीय रहेको प्रष्ट पारेको छ ।

विभागले विज्ञप्ति जारी गर्दै गहन रुपमा गरिएको परीक्षणको क्रममा जुजु धौमा कुनै पनि प्रकारको बाह्य पदार्थ वा अखाद्य पदार्थ सम्मिश्रण नभएको पाइएको जानकारी दिएको हो ।

केही समय यतादेखि विभिन्न सामाजिक सञ्जालमार्फत केही समूहले जुजु धौ दहीमा टिस्यु पेपर, कागज, पानीमा नघुल्ने पदार्थहरू सम्मिश्रण गरेको भन्दै भ्रम छर्ने गतिविधि भइरहेको जनाउँदै विभागले त्यस्तो भ्रमको पछि नलाग्न र भ्रमसमेत नछर्न आग्रह गरेको छ ।

विभागका वरिष्ठ अनुसन्धान अधिकृत सुमन धितालले स्थलगत परीक्षणबाट उत्पादन भएका जुजु धौ दहीमा सामाजिक सञ्जालमा भ्रम छरिएको जस्तो टिस्यु पेपर, कागज, पानीमा नघुल्ने पदार्थलगायतका कुनै पनि प्रकारको कैफियत नभेटिएको बताउनुभयो ।

विभाग, जिल्ला प्रशासन कार्यालय भक्तपुर, भक्तपुर नगरपालिका, पत्रकार महासङ्घका प्रतिनिधिसहितको संयुक्त अनुगमन टोलीले भक्तपुर नगरपालिका वडा नम्बर २ ब्यासीस्थित लक्ष्मी दही भण्डार, सैंजु दुग्ध उद्योग लगायतका डेरी तथा जुजुधौ उत्पादन तथा विक्री वितरण गर्ने उद्योगहरूको निरीक्षण तथा अनुगमन गरेको थियो ।

भ्रामक तथा तथ्यहीन भिडियोहरू सामाजिक सञ्जालमा पोस्ट गर्दा उद्योगलाई नकारात्मक असर पुर्‍याउनुका साथै राष्ट्रिय अर्थतन्त्रमा समेत प्रतिकुल प्रभाव पर्ने भएकाले सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले सजग र सचेत हुनुपर्ने विभागले जनाएको छ।

यस अघि गत बैशाख २६ गते भक्तपुरको लिवालीमा सञ्चालित सैजु दुग्ध दही उद्योगलाई उद्योगमा उत्पादन हुने लालमोहन तथा गुँदपाकमा उत्पादन मिति नभएको, लेबलिङ नगरेको, खाद्य अनुज्ञापत्र नलिई उत्पादन गरेको र सरसफाइमा कमी भएको भन्दै अनुगमन टोलीले पाँच हजार जरिवाना गराएको थियो ।

दहीमा अखाद्य वस्तु भेटियो भनेर सामाजिक सञ्जालमा भाइरल भएको लक्ष्मी दही भण्डारलाई अनुगमनका क्रममा सरसफाइमा ध्यान दिनुपर्ने, लेबल विवरण र मूल्य विवरण लगायतका विवरण दहीमा नभएकाले राख्न निर्देशन दिएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button