तपाईँ सुन्दै हुनुहुन्छः

बैजनाथका आरन व्यवसायलाई आधुनिकीकरण गरिँदै

बाँके । बैजनाथ गाउँपालिकाले विश्वकर्मा समुदायको पुर्ख्यौली आरन व्यवसायलाई आधुनिकीकरण गर्ने अभियानमा जुटेको छ ।

आरन व्यवसायलाई आधुनिक बनाउँदै स्वरोजगारमुखी बनाउन ३० दिने सीप विकास तथा प्रविधि हस्तान्तरण तालिम शुरु गरिएको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिका अध्यक्ष प्रकाश बहादुर शाहीले भन्नुभयो,“फलामे औजारमा पालिकालाई आत्मनिर्भर बनाई आरन व्यवसायबाट रोजगारी सिर्जना गर्नेतर्फ पालिकाले योजना बनाएर अगाडि बढेको छ।” गाउँतिर खेती किसानीमा लाग्नेको सङ्ख्या घट्नु, सीमितले गरेको कृषिमा पनि आधुनिक उपकरणको प्रयोग बढ्नु, बजारमा आधुनिक घरेलु हतियारको सहजतालगायतका कारण स्थानीय श्रम र सीपमा आधारित व्यवसाय सङ्कटमा परिरहेको अध्यक्ष शाहीले बताउनुभयो ।  व्यवसायलाई आधुनिक र आत्मनिर्भर बनाउन प्राविधिक उपकरण, कोइला र काँचो फलाममा अनुदान, आधुनिक प्रविधिको तालिम पालिकाले दिने अध्यक्ष शाहीको भनाई छ ।    

तालिममा फलामका सामग्री निर्माण, डिजाइनमा सुधार, उत्पादनको गुणस्तर वृद्धि, बजार पहुँच विस्तार र व्यावसायिकता सम्बन्धी प्रशिक्षण दिने भन्नुहुँदै अध्यक्ष शाहीले तालिम पछि सहभागीहरूलाई आवश्यक प्रविधि र उपकरण समेत हस्तान्तरण गरिने बताउनुभयो । अध्यक्ष शाहीले आरन व्यवसायलाई समयसापेक्ष बनाएर समाज र आर्थिक उन्नतिमा टेवा पुर्‍याउने उद्देश्यले यस्तो कार्यक्रम ल्याइएको बताउनुभयो। 

सहभागी स्थानीय व्यवसायीहरूले तालिमबाट आफूहरूलाई नयाँ सीप सिक्न र आत्मनिर्भर बन्न मद्दत पुग्ने जनाएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button