गणतन्त्रको विरुद्धमा हुने कुनै गतिविधि स्वीकार्य नहुने: अध्यक्ष यादव

जनकपुरधाम । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष संघीय गणतन्त्रको विपक्षमा हुने कुनै प्रकारको क्रियाकलाप आफूहरूका लागि स्वीकार नहुने बताउनु भएको छ ।
जसपाका अध्यक्ष यादवले पार्टीको धनुषा जिल्लाको प्रथम अधिवेशनको आज जनकपुरधाममा उद्घाटन गर्दै सो कुरा बताउनु भएको हो । उहाँले मुलुकमा सङ्घीयता र सुशासन नचाहनेहरूले मात्र सङ्घीयताको विरोध गरेको दाबी गर्दै सङ्घीयतालाई बलियो बनाउने तर्फ संघ सरकार अझ बढी गम्भीर बन्न जरुरी रहेको बताउनु भयो ।
जसपाका अध्यक्ष यादवले अधिकार र सामाजिक न्याय नभएसम्म सङ्घीयता मजबुत नहुने भएकाले संघ सरकारले बजेटको बाँडफाँड जनसङ्ख्याको आधारमा गर्नु पर्ने धारणा राख्नु भयो ।
उहाँले कतिपय अधिकारहरू सङ्घले प्रदेशलाई प्रदान गर्नमा कन्जुस्याइँ गर्ने काम भएको बताउँदै अहिलेको शासन व्यवस्थामा भएको कमी कमजोरीलाई सुधार गर्दै संघीय गणतन्त्रलाई बलियो बनाउनुको कुनै विकल्प नभएको बताउनु भयो ।
जनताको ठूलो सङ्घर्ष र बलिदानबाट प्राप्त भएको संघीय गणतान्त्रिक व्यवस्थालाई बलियो बनाएर सामाजिक न्याय तथा राज्यमा सहभागिता पछाडि परेका वर्ग र समुदायलाई बढाउँदै लान जरुरी रहेको बताउनु भयो ।
जनता समाजवादी पार्टी नेपालका जिल्ला अध्यक्ष पशुपति यादवको अध्यक्षतामा भएको प्रथम जिल्ला अधिवेशनको उद्घाटन कार्यक्रममा केन्द्रीय सदस्य महाजन यादव, प्रतिनिधि सभाका सदस्य दिपक कार्की, पार्टीका मधेश प्रदेशका अध्यक्ष वालकिशोर प्रसाद यादवले पनि संघीय गणतान्त्रिक व्यवस्था माथि हुने कुनै पनि प्रहार स्वीकार नहुने बताउनु भयो ।
प्रतिक्रिया राख्नुहोस्