तपाईँ सुन्दै हुनुहुन्छः

आयुर्वेद उपचार पद्धतिमा आकर्षण

दोलखा । पछिल्लो समय दोलखा जिल्लामा आयुर्वेद पद्धतिबाट उपचार गराउनेको सङ्ख्यामा वृद्धि हुँदै गएको छ । 

सदरमुकाम चरिकोटमा रहेको आयुर्वेद चिकित्सालयमा दैनिक ३५ जनाभन्दा बढी बिरामी उपचारको लागि आउने गरेको चिकित्सालयका प्रमुख डा.मनोजकुमार चौधरीले बताउनुभयो ।

 चिकित्सालयमा विशेषगरी पेट, हाडजोर्नी, पायल्स, फिसल, दमलगायतका बिरामी उपचारको लागि आउने गरेको डा.चौधरी बताउनुहुन्छ । चिकित्सालयका प्रमुख डा.चौधरीका अनुसार आयुर्वेद चिकित्सालयमा अग्नीकर्म थेरापी (विशेषगरी घुँडा थुखेको बिरामीको लागि), बस्ती थेरापी (नसा सम्बन्धि), स्नेहनस्वयधन थेरापी (मसाज गरेर औषधिजन्य बाफ दिने), अकुपञ्चर लगायतका पद्धतिद्वारा उपचार गरिँदै आएको छ । 

चिकित्सालयमा विभिन्न रोगको लागि थेरापीसहित विभिन्न २५ प्रकारका आयुर्वेदिक औषधि निःशुल्क उपलब्ध हुने भएकोले पनि आयुर्वेद चिकित्सालयमा उपचारको लागि आउने बिरामीको सङ्ख्यामा वृद्धि भएको डा.चौधरीको भनाई छ । 

दोलखा जिल्लामा सदरमुकाम चरिकोटमा १६ बेडको आयुर्वेद चिकित्सालयसँगै शैलुङ, तामाकोसी, विगु र गौरीशङ्कर गाउँपालिकामा नागरिक आरोग्य सेवा केन्द्र रहेका छन् । 

कसैगरी पालिका मातहत रहने गरी कालिञ्चोक गाउँपालिका वडा नम्बर– ५ मा लापिलाङ आयुर्वेद औषधालय र मेलुङ गाउँपालिका वडा नम्बर–४ मा भेड्पु आयुर्वेद औषधालय रहेको छ । 

भेड्पुमा रहेको आयुर्वेद औषधालयमा पनि पर्याप्त बिरामी आउने गरेको मेलुङ गाउँपालिकाका अध्यक्ष हिराकुमार थोकरले बताउनुभयो ।

आयुर्वेद औषधालय र नागरिक आरोग्य सेवा केन्द्रबाट समेत बिरामीहरू रिफर भएर आयुर्वेद चिकित्सालय चरिकोटमा उपचारको लागि आउने गरेको चिकित्सालयका अर्को डा. सुकृती ढुङ्गाना बताउनुहुन्छ । आयुर्वेद चिकित्सालयमा उपचार सम्भव नभएका कतिपय बिरामीहरूलाई काठमाडौँ नरदेवी तथा अन्य अस्पतालहरूमा समेत रिफर गरिने डा.ढुङ्गाना बताउनुहुन्छ । 

आयुर्वेद चिकित्सालय चरिकोटमा बिरामीहरूले पहिलो पटक उपचारको लागि आउँदा २० रुपैयाँको टिकट काट्नु पर्ने र फलोअपमा आउँदा १० रुपैयाँ शुल्क बुझाउनुपर्ने चिकित्सालयका वरिष्ठ कविराज निरीक्षक विमल श्रेष्ठ बताउनुहुन्छ । 

१६ बेडसहितको चिकित्सालयको अनुमति प्राप्त भए पनि भौतिक पूर्वाधारको अभावले बिरामीलाई भर्ना गरेर उपचार सेवा दिन भने सम्भव नभएको अस्पतालका प्रमुख डा.चौधरी बताउनुहुन्छ । 

चिकित्सालयमा अहिले जनशक्ति र उपचारको लागि आवश्यक औषधि तथा अन्य सामग्रीहरूको भने अभाव नरहेको डा.चौधरीले बताउनुभयो । 

भौतिक पूर्वाधार निर्माणको लागि जग्गाको खोजी भइरहेको र सरकारले भवन निर्माणमा बजेट विनियोजन गरिदियो भने चिकित्सालयले थप सुविधा दिनसक्ने सञ्चालक समिति अध्यक्ष राजन बस्नेत बताउनुहुन्छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button