रेडियो नेपाल समाचार महाशाखाको उप-निर्देशकमा दाहालको बढुवा
'वरिष्ठ लेखा अधिकृतमा भण्डारी'

काठमाडौँ । सार्वजनिक सेवा प्रसारण रेडियो नेपालमा कार्यरत दुई जना कर्मचारीकाे पदोन्नति भएको छ ।
पदोन्नति हुनेमा रेडियो नेपालको मुख्य सम्वाददाता पदबाट समाचार महाशाखाको उपनिर्देशक पदमा प्रमोद कुमार सिंह(दाहाल) र लेखा अधिकृत पदबाट वरिष्ठ लेखा अधिकृत पदमा मनोज सिंह भण्डारीकाे पदोन्नति भएको छ ।

सार्वजनिक सेवा प्रसारणको सञ्चालक समितिको निर्णय अनुसार उहाँहरूको पदोन्नतिको अवधि यही वैशाख १२ गतेदेखि लागु भएको छ ।
सार्वजनिक सेवा प्रसारण नेपालका कार्यकारी अध्यक्ष डाक्टर महेन्द्र विष्टले आज उहाँहरूलाई पदोन्नतिको पत्र प्रदान गर्नुभयो ।

त्यस अवसरमा अध्यक्ष विष्टले बधाई दिनुहुँदै पदोन्नति हुने कर्मचारीको जिम्मेवारी र दायित्व बढेकोले सार्वजनिक सेवा प्रसारणको मर्म अनुसार काममा लाग्न र संस्थालाई थप बलियो बनाउने गरी अघि बढ्न निर्देशन दिनुभयो ।

सार्वजनिक सेवा प्रसारण नेपालका कायम मुकाम प्रमुख प्रशासकीय अधिकृत विष्णुराम न्यौपानेले पदोन्नति भएका कर्मचारीको आगामी यात्रा सफल हुने विश्वास व्यक्त गर्नुभयो ।
प्रतिक्रिया राख्नुहोस्