तपाईँ सुन्दै हुनुहुन्छः

बाख्राको नश्ल सुधारले बाख्रापालक किसानको आर्थिक अवस्थामा सुधार

जनकपुरधाम । बोयर जातको उन्नत बोका सरकारी अनुदानमा पाएपछि धनुषाको मुखियापट्टी गाउँपालिकाको दर्जनौँ किसानहरूको आर्थिक तथा सामाजिक अवस्थामा सुधार आएको छ । 

धनुषा तथा महोत्तरी जिल्लाका पोषण अवस्था कमजोर रहेका ४ पालिकामा सञ्चालन भएको खाद्य तथा पोषण सुरक्षा सुधार आयोजना क्लष्टर इकाई धनुषाले ती पालिकाको श्री तराई बाख्रापालन कृषक समूहलाई एक जोडा वोयर जातको बोका प्रदान गरेपछि त्यसले गाउँका साधारण बाख्राहरूको नश्व सुधार भएपछि स्थानीय किसानको आय आर्जनमा व्यापक मात्रामा वृद्धि भएपछि अवस्थामा सुधार भएको हो । 

स्थानीय जाँतको बाख्रामा वोयर जातको बोकाबाट गर्भाधान गराउँदा करिब १ हजारको सङ्ख्या क्रस पाठा पाठी जन्म भएपछि त्यसको बिक्रीबाट चार वर्षको अवधिमा १ करोड ५० लाख किसानले आम्दानी गर्नमा सफल भएको बाख्रापालन कृषक समूहका अध्यक्ष रामनन्दन यादवले जानकारी दिनु भयो । 

आफ्नो समूहलाई २०७८ सालमा १ र २०७९ साउनमा थप १ वटा शत प्रतिशत वोयर जातको बोका दिएपछि समूहमा आवद्ध भएका किसानले ५ सय पाठापाठी पाउनुका साथै समूह बाहिरका पनि ५ सय किसानले वोयरबाट स्थानीय बाख्रामा गर्भाधान गराएर पाठा पाठी पाएका छन् । बोयरको क्रसबाट जन्मेका पाठा पाठी ६ महिनामा नै हुर्केर २५ किलोग्रामका हुने भएकाले एक वटा बाख्रा वा बोका कम्तीमा पनि १८ हजार देखि २५ हजारमा बिक्री हुने गरेको छ । 

स्थानीय बाख्राको नश्ल सुधार गर्नका लागि उन्नत जातको बोयर बोका प्रदान गरेपछि मुखीयापट्टी मुसहरनीया सहित आसपासका किसानहरुले पनि स्थानीय बाख्राको नश्ल सुधार गरेर बाख्रा पालन गरेर राम्रो आय आर्जन गर्नमा सफल भएको छ । कतिपय किसानले वोयर जातको बोकाबाट जन्मेका बाख्रा तथा खसीको बिक्री गरेर छोरा छोरीलाई शिक्षा पनि प्रदान गर्नमा सफल भएको छ ।  

विश्व कृषि तथा खाद्य सुरक्षा कार्यक्रमको आर्थिक सहयोगमा, विश्व बैकको निगरानी तथा एफ ए ओ प्रविधि सहयोग र नेपाल सरकारद्वारा पहिलो चरण अन्तर्गत धनुषाको मुखियापट्टी मुसहरनीया, धनौजी, थगा महोत्तरीको पिपरा तथा एकडरा बेलामा खाद्य तथा सुरक्षाका क्षेत्रमा विभिन्न कार्यक्रमहरू सञ्चालन भएको थियो भने दोस्रो चरण अन्तर्गत थप चार पालिकामा कार्यक्रम जारी रहेको खाद्य तथा पोषण सुरक्षा सुधार आयोजना क्लष्टर इकाई धनुषाका कार्यालय प्रमुख युगल किशोर तिवारीले जानकारी दिनु भएको हो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button