मुस्लिम समुदायका महिलाहरूलाई सेनेटरी प्याड बनाउन सिकाइँदै
नेपालगञ्ज। नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १ का मुस्लिम समुदायका ३० जना महिलाहरूले सेनेटरी प्याड बनाउन सिकिरहेका छन् । मुस्लिम समुदायका महिलाहरूलाई स्वस्थ जीवनशैली र सेनेटरी प्याडबाट आत्मनिर्भर बनाउने उद्देश्यले नेपालगञ्जमा गरिएको तालिम आजदेखि तीन दिनसम्म चल्नेछ । तालिमबाट महिलाहरूले सेनेटरी प्याड बनाउन सिक्ने अपेक्षा लिइएको छ ।

लुम्बिनी प्रदेशका सांसद मिना श्रेष्ठको संयोजनमा लुम्बिनी प्रदेश सरकार स्वास्थ्य मन्त्रालयको आर्थिक सहयोग, स्वास्थ्य कार्यालय बाँकेको आयोजना र नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १ को समन्वयमा तालिम गरिएको हो । मुस्लिम समुदायका महिलाहरूलाई आत्मनिर्भर बनाउन सेनेटरी प्याड बनाउने मात्र नभएर अन्य विषयमा पनि जानकार बनाउन आवश्यक रहेको सांसद श्रेष्ठले बताउनुभयो । उहाँले तालिम सञ्चालन गर्नु अगाडि मुस्लिम समुदायका महिलाहरूको अपेक्षाबारे अध्ययन गरिएको बताउनुभयो ।

तालिमको सहजीकरण पुष्पा शर्माले गरिरहनुभएको छ । उहाँले १७ वर्षदेखि ३६ बर्ष उमेर समूहका महिलाहरूले सेनेटरी प्याड बनाउन सिकिरहेको बताउनुभयो । घरेलु सेनेटरी प्याडको प्रयोग गर्दा बचत हुनुका साथै वायु प्रदूषण पनि नहुने सहजकर्ता शर्माले बताउनुभयो । उहाँका अनुसार एउटा प्याड कम्तीमा ४ महिनासम्म प्रयोग गर्न सकिन्छ । १ मिटर कपडाबाट ४ वटा प्याड बनाउन सकिने पनि उहाँले बताउनुभयो ।
प्रतिक्रिया राख्नुहोस्