तपाईँ सुन्दै हुनुहुन्छः

तत्काल सम्पन्न गर्न सकिने आयोजनालाई पहिलो प्राथमिकतामा दिनुपर्छ: उपाध्यक्ष डा. अधिकारी

काठमाडौँ । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा डा शिवराज अधिकारीले तत्काल सम्पन्न गर्न सकिने आयोजनालाई पहिलो प्राथमिकतामा राख्नुपर्ने बताउनुभएको छ । 

आयोगको आयोजनामा आज आगामी आर्थिक वर्षको वार्षिक विकास कार्यक्रम तथा मध्यमकालीन खर्च संरचना  तर्जुमा एवं राष्ट्रिय आयोजना बैङ्क सम्बन्धी छलफल तथा अन्तर्क्रिया कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । 

आयोगका उपाध्यक्ष प्राडा अधिकारीले आयोजनालाई अध्ययन र कार्यान्वयन हुने किसिमका गरि दुई प्रकारमा विभाजन गरिने बताउनुभयो । उहाँले कार्यान्वयन गरिने खालका आयोजना ३ करोड रुपैयाँ भन्दा कमको नहुने बताउनुभएको छ ।  

उहाँले ३ करोड भन्दा कमको आयोजना राष्ट्रिय आयोजना बैङ्कमा प्रविष्ट गर्न नमिल्ने बनाइएको समेत छलफलका क्रममा स्मरण गराउनु भयो ।

सरकारको नीति तथा कार्यक्रममा उल्लेख भए अनुसार नै आयोजनाको प्राथमिकता र पुनः प्राथमिकता गर्नु पर्ने उल्लेख गर्नुभयो । छिटो सम्पन्न हुने आयोजनालाई पहिलो प्राथमिकता दिनुपर्ने उहाँले जोड दिनुभयो । 

उहाँले प्रोजेक्ट बैङ्कमा पनि नजाने डिपिआरमा पनि नजाने आयोजना माथि प्रश्न उठ्ने र उठ्नु जायज पनि भएको भन्दै विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) नभएको आयोजना अध्ययनको क्रममा राखिने समेत उल्लेख गर्नु भयो ।

छलफलका क्रममा विभिन्न मन्त्रालयका सचिव एवं सहसचिवहरूले बजेटको सिलिङका कारणले मध्यकालीन खर्च संरचना तयार गर्न कठिन भएको बताउनु भयो । 

मध्यमकालिन खर्च संरचना विद्यमान अवस्था र अगामी कार्यदिशा सम्बन्धी प्रस्तुतीकरण गर्नुहुँदै सहसचिव खोमराज कोइरालाले हालसम्म ४४ वटा निकायमा ४० वटाले मात्र इन्ट्री भएको र ३२ प्रतिशत मात्र पुँजीगत खर्च भएको बताउनु भयो । 

सहसचिव अर्जुन भण्डारीले राष्ट्रिय आयोजना बैङ्क प्रणाली सम्बन्धमा प्रस्तुतीकरण गर्नुहुँदै हालसम्म ७ हजार ३ सय ३७ आयोजना, आयोजना बैङ्कमा प्रविष्ट भएको र त्यस मध्ये कतिपय आयोजना ड्राफ्टमा रहेको समेत जानकारी दिनु भयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button