‘बारपाकमा पुनःनिर्माण भएका घर मौलिक र प्राचीनयुक्त भएन’

काठमाडौँ । सांसदहरुले गोरखाको बारपाकमा भूकम्पपछि पुनःनिर्माण भएका घरहरू मौलिक र प्राचीनयुक्त नभएको बताउनुभएको छ ।
राष्ट्रियसभा अन्तरगत सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको आजको बैठकमा बारपाक क्षेत्रमा भूकम्पपछिको पुनःनिर्माण सम्बन्धमा अनुगमन कार्यक्रमको समीक्षामा उहाँहरूले पुनः निर्माणमा ग्रामीण भेगको मौलिकता नपाइएको टिप्पणी गर्नुभयो ।
समितिका सभापति मायाप्रसाद शर्माले भूकम्पपछिको पुनःनिर्माण अवस्थाबारे थाहा पाउनु र स्थानीय तहको भूमिका कस्तो छ रु पुनः निर्माणपछिको सर्वसाधारणको धारणालगायतका कुरा थाहा पाउन संसद्को टोली बारपाक भ्रमण गएको जानकारी दिनुभयो ।
मदनकुमारी शाहले भवनको डिजाइन र नक्सा समयमा आउन नसक्दा वर्षौँसम्म पालमा बस्नुपरेको र बारपाकमा अझै पुनःनिर्माण पूरा नभएको तथा भएका पुनः निर्माणमा मौलिकता नभएको सर्वसाधारणको गुनासो रहेको बताउनुभयो । “बारपाकमा तीन दलित परिवार अझै भूमिहीन रहेछन् । सरकारले सार्वजनिक भवन बनाउन रकम दिने तर जग्गा चाहिँ छैन । जग्गा किन्नलाई पहिला बजेट छुट्याउनुपर्ने होइन र?”, उहाँले भन्नुभयो, “दशक बित्दा पनि पुनःनिर्माण सकिएन । अब जाजरकोटको भूकम्प पीडितको अवस्था पनि उस्तै हुने हो कि भन्ने चिन्ता छ ।”
सांसद पदमबहादुर परियारले बारपाकमा अझै चार घरको पुनःनिर्माण सम्पन्न नहुँदा अस्थायी आवासमा बसिरहेकाले चाँडोभन्दा चाँडो पुनःनिर्माण सम्पन्न गर्नुपर्नेमा जोड दिनुभयो ।
प्रतिक्रिया राख्नुहोस्