यु–१६ चितवन क्रिकेट छनोट बिहीबारदेखि
चितवन । चितवन जिल्ला क्रिकेट सङ्घको आयोजनामा ‘यु–१६ जिल्ला छनोट प्रतियोगिता’ बिहीबारदेखि सुरु हुने भएको छ ।

आज (मङ्गलवार) ट्रफी तथा जर्सी सार्वजनिक गर्दै सङ्घले वैशाख २५ देखि २८ गतेसम्म गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको नमुना मैदानमा छनोट प्रतियोगिता आयोजना गर्न लागिएको जानकारी दिएको हो । संघका अध्यक्ष सुदिप पियाले प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो ।
प्रतियोगितामा नगद पुरस्कार नभए पनि व्यक्तिगत विधामा खेलाडीहरूले अवार्ड प्राप्त गर्ने पियाले बताउनुभयो । प्रारम्भिक चरणमा सहभागी १३१ जना खेलाडीबाट ५६ जना खेलाडीलाई दोस्रो चरणमा लगिएको पियाले बताउनुभयो ।
प्रतियोगितामा १२ वर्षमुनिका खेलाडीले सहभागिता जनाउन पाउने छैनन् भने १६ वर्ष पुरा नभएका २०६५ भदौ १६ गतेदेखि जन्मिएका खेलाडीले सहभागिता जनाउन पाउने छन् । नारायणगढस्थित क्याम्पा चौरमा गरिएको प्रारम्भिक छनोट चरणमा ५६ जना खेलाडीलाई दोस्रो चरणका लागि छनोट गरिएको हो । चितवन जिल्ला क्रिकेट संघका कार्यसमिति सदस्य तथा नेपालका पूर्व कप्तान राजु खड्का प्रमुख छनोट रहेको टिमले दोस्रो चरणका लागि खेलाडी छनोट गरेको हो ।
२० ओभरमा खेलाइने प्रतियोगितामा सबै टिमले समान ३–३ खेल खेल्ने छन् । यस प्रतियोगिताबाट चितवन जिल्ला टिम निर्माण गरिने छ । प्रतियोगिताको खेल तालिका समेत सार्वजनिक गरिएको छ । पहिलो दिनको पहिलो खेलमा रेड नाइट्स र ग्रीन ग्लाडियटर्सबीच बिहान ८ बजे प्रतिस्पर्धा हुनेछ । सोही दिन दिउँसो ३ बजेदेखि दोस्रो खेलमा ब्लु स्टार र मरुन मेट्सबीच प्रतिस्पर्धा हुने संघका सचिव सुरज ज्ञवालीले जानकारी दिनुभयो ।
प्रतिक्रिया राख्नुहोस्