तपाईँ सुन्दै हुनुहुन्छः

ऊर्जा क्षेत्रमा लगानी गर्न एनआरएनएलाई ऊर्जामन्त्री खड्काको आग्रह

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले ऊर्जा क्षेत्रमा लगानी गर्न गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) लाई आग्रह गर्नुभएको छ । मन्त्री खड्काले आज ऊर्जा मन्त्रालयमा एनआरएनएका नवनिर्वाचित अध्यक्ष महेश श्रेष्ठसहितको टोलीलाई बधाई तथा शुभकामना दिँदै नेपालको ऊर्जा क्षेत्रमा लगानी गर्न आग्रह गर्नुभयो । 

श्रेष्ठ वैशाख २० गते काठमाडौँमा भएको एनआरएनए महाधिवेशनबाट सर्वसम्मत अध्यक्षमा निर्वाचित हुनुभएको थियो । ऊर्जामन्त्री खड्काले ऊर्जा क्षेत्रबाट मुलुकको विकास सम्भव भएकाले विश्वभर रहेका एनआरएनएलाई समेटेर नेपालको ऊर्जा क्षेत्रमा लगानी गर्न आग्रह गर्नुभयो  । उहाँले नवनिर्वाचित अध्यक्ष श्रेष्ठलाई एनआरएनएलाई एकताबद्ध बनाएर अगाडि बढाउन सुझावसमेत दिनुभयो ।

एनआरएनएका नवनिर्वाचित अध्यक्ष श्रेष्ठले नेपालको ऊर्जा क्षेत्रमा लगानी गर्न एनआरएनए तयार रहेको र त्यसका लागि आवश्यक सहजीकरण गर्ने विश्वास दिलाउनुभयो  । सरकारले राम्रो आयोजना दिए आफूहरू लगानी गर्न तयार रहेको उहाँको भनाइ थियो । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button