‘मिथिला संस्कृतिको संरक्षण र संवर्द्धन हाम्रो साझा दायित्व हो’

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले मिथिला संस्कृतिको संरक्षण र संवर्द्धन सबैको दायित्व रहेको बताउनुभएको छ ।
मिथिला संस्कृति समाज, नेपालको आयोजनामा ‘सीता प्राकट्य दिवस समारोह २०८२’ लाई सम्बोधन गर्दै उहाँले इतिहासले सीता मातालाई आदर्श नारीका रूपमा चित्रित गरेकाले सबैमा आदर भाव हुनुपर्नेमा जोड दिनुभयो ।
उहाँले भन्नुभयो, “सीताप्रति हाम्रो आदर भाव त्यही बेला सार्थक हुन्छ जब हामी मिथिलाको संस्कृति र महिमाको पुनर्जागरण गर्छौं ।” उहाँले मिथिला र बौद्ध संस्कृतिलाई जोड्न सीता–सिद्धार्थ खण्डका रूपमा हुलाकी मार्गको सम्बन्धित खण्डको विकास गर्न आगामी आर्थिक वर्षको बजेटमा व्यवस्था गर्ने बताउनुभयो ।
मिथिला संस्कृति समाज नेपालका कार्यक्रम संयोजक अमितकुमार दासले हरेक वर्ष यस अवसरमा ‘सीता माता’ को महिमासम्बन्धी चर्चा परिचर्चा, विचार–मन्थन तथा स्रष्टा सम्मान कार्यक्रम गर्दै आइरहेको बताउनुभयो ।
सो अवसरमा राष्ट्रिय समाचार समिति (रासस)की ललितपुर संवाददाता अर्चना झा र काठमाडौँ जिल्ला अदालतकी न्यायाधीश मोना सिंहलाई ‘सीता’ उपाधिसहित सम्मान गरिएको थियो ।
प्रतिक्रिया राख्नुहोस्